उनी अपरिचित मानिससामु मुठी बनाउँदै जान्छन् । मुठीमा मुड्की हान्न लगाउँछन् । उनको मुठीबाट केटाकेटीका लागि चकलेट, वृद्धहरूका लागि ढाका टोपी र वृद्धाहरूका लागि पछ्यौरा निस्किन्छ । यसैगरी उनी कसैलाई टिसर्ट दिन्छन्, कसैलाई चप्पल, कसैलाई खानेकुरा अनि कसैलाई पैसा ।
यसरी मुठी खोलेर अपरिचितलाई सरप्राइज दिने व्यक्ति हुन्, काठमाडौँ, कलंकीका ३३ वर्षीय एन्जल महर्जन । टिकटक चलाउने प्रायःले एन्जललाई चिन्छन् । उनी टिकटकमा मुठी खोलेर सरप्राइज दिने व्यक्तिका रूपमा परिचित छन् । एन्जल यतिबेला नेपाल टुरमा छन्- मुठी खोलेर सरप्राइज दिन, नचिनेका मान्छेहरूलाई भेट्न, उनीहरूका कथा सुन्न । केही महिनायता मात्रै थालनी भएको उनको यात्राले २० जिल्ला टेकिसक्यो ।
एन्जल यसअघि अस्ट्रेलिया बस्थे । कोभिड सुरु भएपछि उनी नेपाल आए । उनी नेपाल आएको भोलिपल्टै लकडाउन सुरु भयो । लकडाउनमा घरभित्रै बस्नुपर्दा उनी दिक्क भइसकेका थिए । सबै कुरा ठप्प थियो । त्यो बेलामा उनले थुप्रै किताब पढे । मोटिभेसनल भिडियोहरू हेरे । लकडाउन खुलेपछि उनको पुनः अस्ट्रेलिया फर्किने योजना थियो । तर, अस्ट्रेलिया जाँदा उता क्वारेन्टिनमा बस्नुपर्ने नियम बन्यो । जुन एकदमै महँगो थियो । त्यो पैसा क्वारेन्टिनमा बसेर खर्च गर्नुभन्दा उनले नेपाल घुम्ने योजना बनाए । भिडियो बनाउनु उनको रुचिको विषय थियो । पहिलादेखि नै उनी ट्राभल भिडियोहरू बनाउँथे ।
टिकटक एप उनले हरेकको मोबाइलमा देख्थे । तर, टिकटकका भडियोहरू सकारात्मकभन्दा बढी नकारात्मक पाउँथे उनी । ‘नेपालमा टिकटक दोस्रो फेसबुक जस्तै बनिसकेको थियो,’ उनले भने, ‘यसका भिडियोलाई कसरी मोटिभेसनल र सकारात्मक बनाउन सकिएला भनेर सोच्न थालेँ ।’
यही क्रममा उनले एकदिन टिकटकमा एउटा भिडियो देखे । हातमा ट्याटु नै ट्याटु भएको एकजना व्यक्तिले नचिनेका मान्छेलाई चकलेट दिएको भिडियो बनाइरहेको थियो । एन्जललाई त्यो आइडिया मन पर्यो । तर, यो काम उनले सोचेजस्तो सजिलो थिएन । किनभने, उनी मानिसहरूसँग घुलमिल हुन असाध्यै अप्ठ्यारो मान्थे । टिकटक अभिनय गर्ने र लिप्सिङ गर्ने प्लेटफर्म हो । यो दुबै गर्न आउँदैनथ्यो एन्जललाई । अन्त्यमा चकलेटवाला आइडिया नै फलो गरे ।
एकदिन उनी आफ्ना भाइ समीरसँग ललितपुरको श्रीकाली गए । उनलाई केही ड्रोन सटहरू लिनुपर्ने थियो । त्यही मौकामा केही टिकटक बनाउने सोचेका थिए । ‘फर्किंदै गर्दा तीनजना युवती आइरहका थिए,’ उनले भने, ‘मलाई उनीहरूलाई चकलेट दिएको भिडियो बनाउन मन लाग्यो । तर आँट आएन ।’ त्यतिबेला समीरले एन्जलको हौसला बढाए । चकलेट दिएको भिडियो तयार भयो । सामान्य एडिट गरेर उनले त्यो भिडियो टिकटकमा हाले ।
भोलिपल्ट बिहान उनी उठ्दा भिडियो भाइरल भएको थियो । उसले सरसर्ती कमेन्ट पढे । कमेन्टमा लेखिएको थियो- गएर बुवालाई दिनुस्, गएर आमाहरूलाई दिनुस्, गएर प्रहरीलाई दिनुस्, गएर बालबालिकाहरूलाई दिनुस् । उनलाई ती प्रतिक्रिया मन परे । तर, चकलेटवाला कन्सेप्ट भने परिवर्तन गर्ने विचार गरे । ‘बूढाबूढीलाई चकलेट दिएर त्यसको के अर्थ जस्तो लाग्यो,’ उनले भने, ‘मैले उनीहरूका लागि प्रयोग गर्न मिल्ने केही सामान दिने योजना बनाएँ । र, केही थान ढाका टोपी र पछ्यौरा किनेँ ।’
यसको पनि त्यसरी नै भिडियो बनाएर टिकटकमा हाले । धेरै राम्रा प्रतिक्रिया आए जसले उनलाई यो काम गर्न झनै हौस्यायो । बिस्तारै यो नै उनको दैनिकी बन्न थाल्यो । सुरुवाती दिनमा भ्युज आएर फुर्किएर हिँडेका उनी अब भने साँच्चै नचिनेका मान्छेहरूको कथा सुन्न हिँडे । आफूले दिएको स-साना सामानबापत उनीहरूको अनुहारमा देखिने मुस्कान खोज्न हिँडे । नचिनेका मान्छेहरूले पनि उनलाई आफ्नै मान्छे जसरी आफ्ना व्यथा सुनाउन थाले ।
पात्रहरूसँग भेट्ने क्रममा केही समयअघि कलंकीमा एकजनासँग उनको भेट भयो । उनको नाम थियो, कुलमान थिङ । उनले एन्जललाई आफ्नो कथा सुनाए । आधा पाउ चिउरा र थोरै दालमोठ किनिदिन आग्रह गरे । धुलिखेलदेखि हिँड्दै कलंकीसम्म आएका उनी हेटौँडा जाने तयारीमा थिए । उनले ती व्यक्तिको भिडियो खिचेर टिकटकमा हालेका थिए । भिडियो हालेपछि उनले धेरै गाली खाए । ‘मान्छेको गरिबीलाई लिएर मजाक उडाएको, मान्छेको प्राइभेसीलाई ध्यान नदिएको भनेर धेरै कमेन्ट आए,’ उनले भने, ‘एकछिन त मैले गर्नै नहुने काम गरेछु कि क्या हो जस्तो पनि लाग्यो ।’
तर, त्यही भिडियोमा अर्को कमेन्ट पनि थियो । लेखिएको थियो- १० वर्षदेखि हराएको मेरो ठूलोबुवा तपाईंले कहाँ भेट्नुभयो ? कमेन्ट गर्नेसँग उनको सम्पर्क भयो । भेट भयो । टिकटकमै उनीहरू मिलेर एउटा हेल्प पोस्ट बनाए, ती व्यक्तिलाई देख्नेले सम्पर्क गर्न आग्रह गर्दै । केही समयमै उनी हेटौँडामा भेटिएको खबर आयो । उनीहरू हेटौँडा गए । १० वर्षपछि भेटेको बाबु-छोराको मिलनको भिडियो खिचे । टिकटकमा हाले । यो भिडियो धेरैले रुचाए । उनलाई धन्यवाद दिए । त्यसपछि एन्जललाई लाग्न थाल्यो, टिकटकलाई यसरी पनि प्रयोग गर्न सकिँदो रहेछ ।
उनी जति भिडियोहरू बनाउँदै छन्, उनीमाथि उति नै धेरै प्रश्न तेर्सिंदैछन् । यसरी सहयोग गर्ने पैसा कहाँबाट आयो ? अहिले उनलाई सबैभन्दा धेरै सोधिने प्रश्न नै यही हो । ‘एकचोटि साथीहरूसँग बसेर खाँदा हजारौँको बिल आउँथ्यो,’ उनले भने, ‘त्यो पैसाले मलाई मानिसहरूको मुस्कान किन्न मन लाग्यो । एउटा टिसर्ट, एउटा ढाका टोपी, एउटा पछ्यौरा पाउँदा कोही खुसी हुँदैन भने किन नगर्ने भन्ने लाग्यो । अहिले मैले खर्च गरिरहेको पैसा सात वर्षसम्म अस्ट्रेलिया बसेर दुःख गरेर कमाएको पैसा हो ।’
नेगेटिभ कमेन्टमा उनी खासै ध्यान दिँदैनन् । ‘१० जनामा पाँच जनाले तिम्रो काम राम्रो छ भन्छन्,’ उनले भने, ‘तीन जनाले तिमीले गरेको जस्तो काम म पनि गर्न चाहन्छु भन्छन् । बाँकी दुईजनाले नेगेटिभ कमेन्ट गरेका हुन्छन् । मलाई खासै फरक पर्दैन ।’ उनको बैंकको बचत बिस्तारै निख्रिँदै छ । तर, उनलाई चिन्ता छैन । जबसम्म सम्भव छ, तबसम्म उनी यो काम गरिरहन चाहन्छन् । किनभने, एन्जललाई लाग्न थालेको छ, घरबाट निस्किएपछि मात्रै बल्ल संसार देखिने रहेछ । संसारका मानिस भेटिने रहेछ । ‘हामी सबै आफ्नो दुःखलाई ठूलो मानेर घरभित्र दुःखी भएर बन्छौँ,’ उनले भने, ‘तर, घरबाहिर निस्किएर अरुको कथा सुन्दा थाहा भयो हाम्रो दुःख दुखै होइन रहेछ ।’
0 comments:
Post a Comment