Thursday 1 September 2022

‘भाइरल र ट्रेन्डिङको होइन म केवल गीतको पछाडि दौडिन्छु’


शनिबार, २४ फागुन २०७६


पाश्र्वगायनमा चर्चित नाम हो, प्रविशा अधिकारी। ‘मायाले बाँध्यो यसरी’, ‘फूल हैन’, ‘जिन्दगी नै भन्दिनँ’ उनका लोकप्रिय गीत हुन्। उनले दुई पुस्ताका लागि गीत गाएकी छिन्। अभिनेत्री झरना थापाका लागि मात्र नभई छोरी सुहाना थापाका लागि पनि गीत गाएकी छिन्। भर्खरै प्रविशाको फिल्म ‘प्रेम गीत–३’ को ‘हर युग होस्’ गीत सार्वजनिक भएको छ। उनीसँग ‘अन्नपूर्ण सम्पूर्ण’ का लागि सृजना खड्काले कुराकानी गरेकी छिन्।


 आजभोलि रेकर्डिङमा धेरै व्यस्त हुनुहुन्छ कि अन्तर्वार्तामा ?
दुवैमा व्यस्त छु। दुवैलाई बराबर समय दिइरहेकी छु। आधा दिन रेकर्डिङमा बित्छ, भने आधा दिन इन्टरभ्यूमा बित्छ। यस्तै चलिरहेको छ। 

गुमनाम भएर गीत गाइरहेको मान्छे एकाएक मिडियामा आउने कारण चाहिँ के रहेछ ? 
सही समयको पर्खाइमा थिएँ। त्यो सही समय अहिले आएको छ। यो क्षेत्रमा ‘सेल्फ प्रमोसन’ पनि चाहिँदो रहेछ भन्ने बुझ्न थालेकी छु। अब पनि पछि परियो भने ढिला होला भन्ने लाग्यो। 

पहिला केको डर थियो र ? 
पहिला ‘मिडियालाई फेस गर्न सक्दिनँ’ कि भन्ने लाग्थ्यो। ‘मिडियामा आउने गरी मैले के नै गरेको छु र !’ सोच्थेँ। अहिले कामको आधारमा पनि आफूलाई पहिलाभन्दा धेरै राम्रो पाएकी छु। त्यसैले बाहिर आउनुपर्छ भन्ने लागेको हो। 

त्यति आत्मज्ञान पाउन एक दशक लाग्यो, है ?
हो नि ! हरेक कुराको समय हुँदो रहेछ। पहिला मलाई गीत चल्दा आफू चल्नुपर्छजस्तो लाग्दैनथ्यो। तर, गीतसँगै आफू पनि चल्नुपर्दो रहेछ। जुनसुकै क्षेत्रमा पनि समयअनुसार चलिएन भने पछि परिँदो रहेछ। तर, यसमा मलाई कुनै पछुतो छैन। पहिलाको गुमनाम जिन्दगी पनि इन्जोय गरिएकै हो, अहिलेको पब्लिक लाइफ पनि रमाइलै छ। 

गीत चिनिँदा तर आफू नचिनिँदा कस्तो लाग्थ्यो ?
धेरैले मलाई ‘तपाईंको गीत सुनेको थिएँ तर तपाईंले गाएको भन्ने थाहा थिएन’ भन्नुहुन्थ्यो। उहाँहरूले यस्तो भन्दा रमाइलै लाग्थ्यो। धेरै पटक यस्तो पनि हुन्थ्यो, सार्वजनिक यातायातमा मेरै गीत बजिरहेको हुन्थ्यो तर मलाई कसैले चिन्दैनथे। मैले पनि ‘यो गीत मैले गाएकी हुँ’ भनेर कहिल्यै भनिनँ। स्रोताले मेरो आवाज रुचाएकोमा मक्ख थिएँ।

त्यसो भए मानिसहरूले कहिलेबाट यो गीत गाउने गायिका प्रविशा हो भनेर नोटिस गर्न थाले त ?
पहिला पनि मलाई सुन्ने जमात थियो। तर, एकदमै थोरै। ‘रोज’ फिल्मको ‘फूल हैन’ बोलको गीत सुनेपछि धेरैले नोटिस गरे। ‘तपाईं धेरै राम्रो गाउनुहुन्छ, बाहिर आउनुपर्‍यो’ भनेर कतिपयले म्यासेजसमेत गरे। ‘गीत गाउँदिनँ’ भनेर भागेको मान्छेलाई यस्तै कुराले संगीतमा अघि बढ्न प्रेरणा मिल्यो। 

यस्तो मीठो स्वरकी धनीले ‘गीत गाउँदिनँ’ भनेर भाग्न खोज्नुको कारण चाहिँ के होला ?
मलाई खुलेर बाहिर आउन डर लाग्थ्यो। आत्मविश्वास नभएको महसुस हुन्थ्यो। धेरै मानिसहरूले मन पराउँदा वा मन नपराउँदाको क्षणलाई सम्हाल्न सक्छु कि सक्दिनँ भन्ने लाग्थ्यो। सेलिब्रिटीभन्दा सामान्य जीवन प्यारो लाग्थ्यो। तर, मैले गाउन थालेदेखि नै अफरको कमी भएन। यो क्षेत्रमा खासै संघर्ष गर्नु परेन। त्यसैले पनि होला, मैले यसलाई हल्का रूपमा लिएको।

पहिलो पटक गीत गाएको याद छ ?
सानोमा एकदमै लज्जालु स्वभावकी थिएँ। घरमा हल्का गुनगुनाउँथेँ। स्कुलमा मैले कहिल्यै गीत गाइनँ। थोरै साथीलाई मात्र म गीत गाउँछु भन्ने थाहा थियो। टिचरहरूलाई म गाउँछु भनेर कहिल्यै थाहा दिइनँ। पछि कलेज पढ्न थालेपछि गाउन थालेँ। त्यो बेला रक गीत गाउँथेँ। रक ब्यान्ड कम्पिटिसनमा पनि गएकी थिएँ। तर, करिअर फरक खालको गीतबाट सुरु भयो। अहिले रक खालका गीतमा पनि अभ्यास गरिरहेकी छु। बेला–बेलामा मानिसहरूलाई छक्क पार्ने काम पनि गर्नुपर्छ। मलाई भर्सटायल हुन मन पर्छ। 

आमा झरना थापादेखि छोरी सुहाना थापासम्मका लागि गीत गाउनुभयो। दुई पुस्ताका लागि गीत गाउँदा कस्तो महसुस भयो ?
यसका लागि आफूलाई लकी ठान्छु। झरना दिदीका लागि धेरै फिल्ममा गीत गाएकी छु। डेब्यू गीत पनि झरना दिदीकै लागि गाएकी थिएँ। फिल्म ‘कसलाई दिऊँ यो जोबन’को ‘मायामा मायामा’ गीत बढी चर्चित भयो। उहाँकी छोरी सुहानाका लागि फिल्म ‘ए मेरो हजुर–३’ को गीत गाउन पाएँ। यसलाई आफ्नो जीवनको ठूलो उपलब्धि ठान्छु। सबैभन्दा ठूलो कुरा आवाज मिल्नुपर्‍यो। मेरो आवाज धेरैलाई सुट गर्छ। मान्छेलाई बुढेसकाल लाग्न थाले पनि धन्न आवाजलाई चाहिँ बुढेसकाल लागेको छैन। 

बुढेसकाल नै लागिसकेको हो र ?
२०६१ मा एसएलसी दिएको मान्छे म। बुढेसकाल लागिहाल्योे नि ! 

‘प्रविशाले काम होइन, कामले प्रविशा खोज्दै आउँछ’ भन्ने सुनिन्छ नि ? 
खै के भन्ने, तर अहिलेसम्म कसैलाई ‘काम दिनुस्’ भनेर हिँडेकी छैन। मैले गाएका गीत सबैले रुचाउनुभएको छ। त्यहीअनुसार मैले पनि मेहनत गरिरहेकी छु। सबैभन्दा ठूलो कुरा आफूभित्र क्षमता हुनुपर्‍यो। आफूमा क्षमता भएसम्म कामले आफूलाई पछ्याउँदै आउँछ भन्ने लाग्छ।

अर्थशास्त्र पढेको मान्छे संगीततिर कसरी तानिनुभयो ?
संगीतमा लाग्ने मेरो ठूलो रहर थियो। संगीत पढेको छैन। अहिले जुन ठाउँमा छु, त्यो सबै अभ्यासको कमाल हो। गाउँदै गएपछि यसमै करिअर देख्न थालेँ। यो क्षेत्रबाट धेरै साथ र सहयोग पाएकी छु। पहिला संगीत मेरा लागि रहर थियो। अहिले रहरमा मात्र सीमित छैन। यो क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास पलाएको छ।
 
गीत गाउन परिवारले कत्तिको सघायो ?
मेरो परिवारमा संगीतमा कोही पनि छैन। तैपनि, यो क्षेत्रमा मलाई उहाँहरूको सपोर्ट छ। उहाँहरूका सपोर्ट नभएको भए यो यात्रा सहज हुने थिएन। यस क्षेत्रमा मैले कसैलाई चिनेकी थिइनँ। त्यसैले कहिल्यै गायिका बन्छु भनेर सपना पालेकी पनि थिइनँ। समयले मलाई गायिका बनायो। आफ्नो आवाजलाई गड गिफ्टेड भन्छु। यही गिफ्टबाट केही फ्यान कमाउन सफल भएकी छु।

फ्यान चाहिँ कस्ता–कस्ता छन् त ?
मेरा फ्यान थोरै छन्। तर, डाइहार्ड खालका छन्। उनीहरूले मेरो पेजमा म्यासेज गरेर ‘तपाईं राम्रो गाउनुहुन्छ’, ‘तपाईंको भविष्य राम्रो छ’ भन्छन्। यी कुराले सांगीतिक क्षेत्रमा लाग्न थप प्रेरणा दिएको छ। 

तपाईं चाहिँ कसको फ्यान नि ? 
त्यस्तो फ्यान भन्ने त छैन। तर, मलाई लता मंगेशकर, आशा भोसलेको स्वर मन पर्छ। उनीहरूकै गीत बढी सुन्छु। कुन्ती मोक्तान दिदीका गीत पनि एकदमै सुन्छु। मलाई उहाँको गायकीको क्यारिकेचर पनि गर्न आउँछ। 

गायिकाबाट नायिकातिर जाने रहर छ कि छैन ?
फिल्मका अफर नआएका होइनन्, तर मैले गरिनँ। एक्टिङ धेरै गाह्रो काम भएकाले त्यतातिर हात हाल्न मन लागेन। तर, पछिल्लो समय केही म्युजिक भिडियोमा काम गरेपछि पर्दामा आउने रहर चाहिँ छ। आफूलाई मिल्दो खालको क्यारेक्टर आयो भने गर्छु पनि होला। फिल्ममा अफर आएन भने पनि म्युजिक भिडियो छँदै छ। आफूले गाएको गीतमा आफैँ अभिनय गर्दा शब्दको गहिराइ बुझेको हुनाले अभिनय गर्न खासै गाह्रो हुँदैन। अहिलेलाई राम्रो ब्यानरको फिल्ममा गाउन पाएकोमा खुशी छु। 

अहिले धेरै गीत भाइरल र ट्रेन्डिङको पछि छन्। तपाईंलाई त्यसले छुन्छ कि छुँदैन ?
मलाई त्यसले कहिल्यै छुँदैन। तर, मेरा पनि केही गीत राम्रै चले। केही गीत ट्रेन्डिङमा पनि परे। तर, म कहिल्यै भाइरल र ट्रेन्डिङको पछाडि दौडिएको छैन।  म केवल गीतको पछाडि दौडिन्छु। सधैँ शब्दलाई ध्यान दिन्छु। आफ्नो आवाज त्यसमा मिल्छ कि मिल्दैन, हेर्छु। कहिलेकाहीँ एकदमै मेहनत गरेको गीतमा भ्युज आउँदैन। तर, मलाई दुःख लाग्दैन। सदाबहार गीत सदाबहार नै हुन्छ। यसको मतलब ट्रेन्डिङमा जाँदै जानु हुन्न भन्ने पनि होइन। तर, राम्रो गर्न सक्ने मानिस ट्रेन्डिङ र भाइरलको पछि दौडिनु हुँदैन।

आफूले गाउने गीत कसरी छान्नुहुन्छ ?
गीत ट्रेन्डिङमा पर्ला कि नपर्ला भनेर छान्दिनँ। कहिलेकाहीँ साधारण संगीतले पनि मानिसको मन छुन्छ। त्यस्ता गीत पनि गाउँछु। समाजलाई र आफूलाई अपाच्य हुने खालका गीत गाउँदिनँ। आफूले गाउने गीत आफूलाई सुट हुन्छ कि हुँदैन भनेर पनि हेर्छु। मलाई सुट हुँदैन भने यो मान्छेलाई सुट हुन्छ, उसलाई गाउन लगाउनुस् भन्छु। मेरा लागि गीत गाउनु मात्र ठूलो कुरा होइन, त्यसलाई न्याय गर्न सक्नु ठूलो कुरा हो। अहिले प्लेब्याकमा रमाइरहेकी छु। प्लेब्याक गाउनुको मज्जा छुट्टै छ। सबैको आवाज प्लेब्याकका लागि सुट हुँदैन। सुटेबल आवाजले पनि कतिपय ठाउँमा अवसर पाइरहेको हुँदैन। त्यसका लागि आफूलाई निकै भाग्यमानी ठान्छु। सधैँभरि प्लेब्याक गाइरहन पाऊँ भन्ने लाग्छ। आउने पुस्ताले मबाट पनि केही सिक्न पाऊन् भन्ने लाग्छ। स्टार हुने रहर मलाई थिएन र छैन पनि।

संगीत क्षेत्रमा अहिले नयाँ–नयाँ अनुहार देखिन्छन्। चुनौती कत्तिको छ ?
अहिले संगीतमा एकदमै प्रतिस्पर्धा छ। हरेक दिन नयाँ आर्टिस्ट जन्मिरहेका छन्। रियालिटी सोहरूले धेरै प्रतिभा जन्माइरहेका छन्। यस क्षेत्रमा टिकिराख्न चुनौती नै छ। तर, समयअनुसार आफूलाई अपडेटड गरिरहेकी छु। प्लेब्याकसँगै आफ्नै गीत पनि निकाल्ने तयारीमा छु। मेरो प्रतिस्पर्धा कसैसँग होइन, आफैसँग हो। पछिल्लो समय केही गीत राम्रा भइरहेका छन्। त्यसले अझै राम्रो गर्नुपर्छ भन्ने दबाब छ। 

0 comments:

Post a Comment