Thursday 1 September 2022

‘हात दिनेभन्दा खुट्टा तान्ने धेरै छन् यहाँ’

 आइतबार, ०९ चैत २०७६

गायन रियालिटी सो ‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ बाट जन्मिएकी गायिका हुन्, विद्या तिवारी। उनी आइडलको पहिलो सिजनकी उत्कृष्ट १८ प्रतिस्पर्धी हुन् भने भ्वाइसमा पनि उनी उत्कृष्ट आठसम्म पुग्न सफल भएकी थिइन्। उनका ‘पिच रोड’, ‘घाममा सुकाइदेऊ’, ‘डलर’, ‘झुम्का’ लगायत गीत चर्चित छन्। उनीसँग सृजना खड्काले खुलस्त संवाद गरेकी छिन्।


पछिल्लो समय तपाईंका गीत सफल छन्। आफू चाहिँ कत्तिको सफल भएँ भन्ने लाग्छ ?

गीत चल्नु मात्र सफल हुनु होइन। मलाई गीत चल्यो भन्दै आफू सफल भएजस्तो लाग्दैन। किनभने, मैले अझै धेरै मेहनत गर्न बाँकी छ। म कुनै चिज पाउँदैमा खुशी भइहाल्दिनँ। त्यो सफलतालाई कायम राख्न आगामी दिनमा अझै धेरै मेहनत गर्नुपर्नेछ। 

आफ्ना गीतहरू ट्रेन्डिङमा पर्दा त खुशी लाग्छ होला नि  ?

आफूले गाएको गीत ट्रेन्डिङमा पर्दा, सबैको मुखमा झुण्डिँदा कसलाई खुशी लाग्दैन र ! तर, कमर्सियल गीतको आयु छोटो हुन्छ। केही समयपछि त्यस्ता गीतलाई अरू गीतले छायामा पारिदिन्छन्। मेरा ‘घाममा सुकाइदेऊ’, ‘डलर’, ‘पिच रोड’ लगायत गीतहरू ट्रेन्डिङमा परे। मैले गाएका गीतले छुट्टै खालका पब्लिकलाई समटेको छ। मसँग सिरियस खालका गीत पनि छन्। तर, मलाई ती गीत बजारमा ल्याउन डर लागिरहेको छ। मानिसले मन नपराउने हुन् कि भन्ने डर हुन्छ। त्यसका लागि सही समय कुरिरहेकी छु।

कहिले आउँछ त त्यो सही समय ?

खै, यसै भन्न सकिन्न। एउटा गीतका लागि आर्टिस्टले छ–सात महिना खर्चिएको हुन्छ। त्यो मेहनत पाँच मिनेटको अडियो र भिडियोमा देखाउनुपर्छ। १० सेकेन्डसम्म हेरेर राम्रो लागेन भने मानिसले गीत सुन्दैनन्। त्यसैले कमर्सियल गीत गाउनैपर्छ। हामीले मार्केटसँग म्युजिक नजोडी कामै छैन।

गीत कहिलेदेखि गाउन थाल्नुभयो ?

आठ कक्षा पढ्दादेखि नै गाउँथेँ। त्यो बेलामा ‘नेपाली तारा’ को अडिसन मेरो घरबाट पाँच मिनेट अगाडिको स्कुलमा भइरहेको थियो। ड्याडीले फर्म भरिदिनुभएछ। मैले ‘जहाँ छन् बुद्धका आँखा’ गाएकी थिएँ। अलिकति गीत गाउनेबित्तिकै जजहरूले ‘लैजाऊ–लैजाऊ’ भन्दै सेलेक्ट भएको कार्ड दिनुभएको याद छ। त्यो बेला पढाइ पहिलो प्राथमिकता भएकाले छनोट भए पनि काठमाडौं आउन पाइनँ। मैले सानैदेखि हेटौँडामा भएका सांगीतिक प्रतियोगिता कुनै पनि छोडिनँ। 

भनेपछि यो क्षेत्रमा लाग्न परिवारको पूरा साथ छ ?

छ। त्यसमा पनि बुबाले सधैँ हौसला दिनुहुन्छ। यो क्षेत्रमा परिवारको साथ सबैभन्दा महŒवपूर्ण हुन्छ। कहिलेकाहीँ गरेको काम सोचेजस्तो नहुँदा दिक्क लाग्छ। आफ्नो उद्देश्यमा पुग्न नसक्दा मान्छे हतोत्साहित हुन्छ। फ्रस्ट्रेसन र डिप्रेसनमा गइन्छ। त्यस्तो बेलामा कसैले सम्हालेन, कसैले बाटो देखाइदिएन भने गलत बाटो समात्ने धेरै छन्। यस्तो परिस्थितिमा परिवारको साथले धेरै काम गर्छ। मेरो परिवारले मेरो हरेक अप्ठ्यारो समयमा साथ दिएको छ। कुनै कुरा पाइँदैन भने त्यसलाई बेवास्ता गर्ने होइन, त्यसका लागि निरन्तर लागिरहनुपर्छ भनेर परिवारले मलाई सिकाएको छ।

घरमा अरू पनि गायक हुनुहुन्छ ?

मेरो ड्याडी गाउनुहुन्छ। तर, उहाँले गीतलाई आफ्नो प्यासन मात्रै बनाउनुभयो,  प्रोफेसन कहिल्यै बनाउनुभएन। मेरो हजुरबुबा पनि गाउनुहुन्छ। म सानो हुँदादेखि नै दुवै जनाले हार्मोनियम बजाएर भजन गाएको देख्थेँ। मेरो घरको माहौल नै सांगीतिक थियो। भक्तराज आचार्य, नारायणगोपालका गीतहरू पहिलो पटक मैले ड्याडीकै मुखबाट सुनेको हुँ। त्यो बेला मलाई ती गीत ड्याडीले नै बनाएर गाएको होजस्तो लाग्थ्यो। 

म्युजिकमै लाग्छु भनेर कहिले सोच्नुभयो ?

प्लस टू सकिएपछि काठमाडौँ आएँ। यहाँ आएपछि रेडियो थाहा सञ्चारमा काम गर्न थालेँ। चार वर्ष म्युजिक सेलेक्सनदेखि टेक्निसियनसम्मका काम रेडियोमा गरेँ। हेटौँडाबाट विदेश जान्छु भनेर काठमाडौँ आएकी थिएँ। तर, पछि रेडियो नेपालमा म्युजिक क्लास लिन थालेँ। गुरु प्रमोद प्रसाईंसँग भेट भयो। त्यहाँबाट क्लासिकल म्युजिकतिर झुकाव बढ्न थाल्यो। त्यसपछि रियालिटी सोहरूमा भाग लिन थालेपछि म्युजिकमै लाग्ने सोच बनाएँ।

आइडलमा कसरी जोडिन पुग्नुभयो ?

आइडलको पहिलो सिजन सुरु हुँदा म प्रमोद प्रसाईं गुरुसँग म्युजिक सिकिरहेकी थिएँ। बिहान कलेज, दिउँसो रेडियो, साँझ भोकल क्लास र राति गिग गर्थें। त्यही बेलामा नेपाल आइडल हुँदै छ भनेर गुरुले भन्नुभयो। उहाँले मलाई ‘तिम्रो वेस्टर्न र इस्टर्न दुवै राम्रो छ, जाऊ’ भन्नुभयो। मैले खासै इच्छा देखाएकी थिइनँ। अन्तिम दिनमा अडिसन दिएँ। सिलेक्ट भएँ। केही समयपछि मैले आइडलमा गाएको गीतको क्लिप साथीहरूले पठाउन थाले। भिडियो भाइरल भएछ। भिडियोमा कमेन्टहरू हेर्न थालेँ। राम्रा–नराम्रा प्रतिक्रिया आइरहेका थिए। सामान्य मान्छे सेलिब्रिटी हुनुको अनुभव मैले त्यही बेला गर्न पाएँ। त्यो बेला फेसबुकमा फ्रेन्ड रिक्वेस्टको बाढी आएको देखेर निकै खुशी भएकी थिएँ। विदेशबाट पनि लामो–लामो म्यासेज आएका थिए। त्यहीँबाट मेरो जीवनले अर्को मोड लियो। म्युजिकमा मनैदेखि लागेको त्यहीँबाट हो। त्यसपछि मैले म्युजिकमा रिसर्च गर्न थालेँ। पूर्व र पश्चिममा कस्तो भाका गाइन्छ भनेर सुन्न थालेँ। पहिला दोहोरी गीत सुन्दैनथेँ। पछि आर्टिस्ट भएपछि सबै खालका गीत सिक्न जरुरी छ भन्ने लागेर सबै खालका गीत सुन्न र अभ्यास गर्न थालेँ। 

आइडलमा टप १८ बाट बाहिँरिदा कस्तो भएको थियो ?

त्यो बेला मलाई मेरो गुरु र ड्याडीले धेरै साथ दिनुभयो। मलाई त्यो सफलता हासिल गर्न तीन–चार वर्ष लाग्थ्यो। मैले एक महिनामा त्यो सफलता पाएँ। आइडलले मलाई धेरै कुरा सिकायो। त्यो नै मेरा लागि ठूलो कुरा थियो। अझै केही माथिसम्म जान पाए हुन्थ्यो भन्ने लोभ त थियो। तर, छोटो समयमा पाएको सफलता छोटै समयमा हराउँछ भनेर चित्त बुझाएँ। मेरो हिँडाइ कछुवाको चालको होस्, तर लामो समय हिँड्न पाइयोस् भन्ने लाग्यो। 

पछि ‘द भ्वाइस’मा पनि जानुभयो। किन यति धेरै रियालिटी सोको मोह ?

रेडियोमा काम गर्दा वेस्टर्न म्युजिक म एकदमै धेरै सुन्थेँ। बाहिरतिर हुने ‘द भ्वाइस’लाई फलो गरिरहेको हुन्थेँ। भ्वाइसमा जाने मेरो ठूलो सपना थियो। यदि विदेश गएँ भने त्यो प्लेटफर्ममा एक न एक पटक उभिन्छु भन्ने थियो। ब्लाइन्ड अडिसनमा चियर टर्न हुने क्षण मलाई जसरी पनि अनुभव गर्नु थियो। त्यो बेलामा मेरा केही गीत बजारमा आइसकेका थिए। ‘मार्केटमा चल्न थालिसकेको मान्छे, रियालिटी सोमा प्लेटफर्म खोज्दै हिँड्छन् !’ भनेर धेरैले भने। तर, भ्वाइसले मलाइ तानेरै छाड्यो। मलाई केही कुरा आइडलले सिकायो, केही भ्वाइसले। दुवैबाट  अनुभव र आत्मविश्वास बटुलेँ। भ्वाइसमा जाँदा धेरैलाई म आइडलमा गएको थाहा थिएन। आइडलमा थोरैले चिन्थे। भ्वाइसमा गएपछि धेरैले चिन्न थाले।

भ्वाइसको अनुभव कस्तो रह्यो ?

मलाई ब्लाइन्ड अडिसनमा सबैको चियर टर्न गराउनु थियो  त्यो मेरो सपना पूरा भयो। दर्शक र कोचबाट धेरै माया पाएँ। सनुप दाइले धेरै सहयोग गर्नुभयो। जित्नु नै मेरा लागि ठूलो कुरा थिएन। त्यसैले आउट हुँदा पनि म निकै सकारात्मक थिएँ। जीवन हो, हार–जीत भइहाल्छ भन्ने लाग्यो। म सधैँ सबै कुरालाई सकारात्मक हिसाबले हेर्छु। त्यो गुण मैले मेरो हजुरबुबाबाट पाएकी हुँ। उहाँ ‘कसैलाई बिझ्ने गरी नबोल्नू, कसैको प्रगति भइरहेको छ भने त्यसमा ईष्र्या नगर्नू र कसैबाट पनि आशा नगर्नू’ भन्नुहुन्थ्यो। उहाँले भनेको त्यही कुरालाई आत्मसात् गर्दै यहाँसम्म आइपुगेकी छु। रियालिटी सोमा भन्दा रियल लाइफमा सफल हुनु ठूलो कुरा रहेछ।  

रियालिट सो र रियल लाइफमा के फरक हुँदो रहेछ ?

रियालिटी सोमा सीमित मानिससँग मात्र प्रतिस्पर्धा हुन्छ। बाहिर आएपछि हजारौँ प्रोफेसनल गायकसँग प्रतिस्पर्धा गर्नुपर्छ। उहाँहरूसँग काम गर्दा धेरै कुरा सिक्ने मौका पाइन्छ। त्यस्तै, रियालिटी सोबाट बाहिर आएपछि धेरै राम्रा–नराम्रा कुरा सुन्नुपर्छ। रियल दुनियाँमा पनि आफूले सोचेजस्तो हुँदैन। यहाँ हात दिनेभन्दा खुट्टा तान्ने धेरै हुन्छन्।

0 comments:

Post a Comment