Thursday 1 September 2022

जंकफुडको जालोमा कलिलो ज्यान

 सृजना खड्का

बिहिबार, २३ फागुन २०७५


केही महिनाअघि पोषणविद् डा.अरुणा उप्रेती काठमाडौँको एक निजी स्कुुलमा गइन्। त्यहाँबालबालिकाको स्वास्थ्य र खानपानविषयमा छलफल कार्यक्रम थियो। 

‘विद्यार्थीहरूलाई के खाजा दिनुहुन्छ?’ उनले स्कुललाई सोधिन्। ‘चाउचाउ, बिस्कुट, चिप्स, जुस,’ स्कुलको जवाफ थियो। 
‘मैले शिक्षकहरूलाई ‘यस्ता खानेकुरा विषबराबर हुन्, दिँदैनदिनुस्’ भनेर सम्झाएँ’, उनले भनिन्, ‘उहाँहरूलाई खाजामा चिउरा, खिर, हलुवा, रोटी, मकै, भटमासजस्ता घरेलु खानेकुरा बच्चालाई दिन सल्लाह दिएँ।’

डा. उप्रेतीको सल्लाहअनुसारस्कुलले खाजाको तालिका परिवर्तन गर्‍यो। त्यसको १५ दिनपछि उनलाईत्यही स्कुलबाट प्रिन्सिपलको फोन आयो। ‘तपाईंले भनेजस्तो खाजा स्कुलमा दिँदा अभिभावक हामीसँग झगडा गर्न आए,’ प्रिन्सिपलले उनलाई भने, ‘मेरो बच्चाको दाँत कमजोर छ, मकै, भटमास, चिउरा चपाउन सक्दैन भनेर धुनचक्र गरे। कतिले त ‘पैसा तिरी–तिरीहामी हाम्रा बच्चालाई मकै, भटमास खुवाउँदैनौँ’ भने।’

यसलाई पोषणविद् डा. उप्रेती ‘मूर्खताको पराकाष्ठा’ भन्छिन्। ‘चकलेट खाँदा बिग्रिएको दाँतको उनीहरूलाई मतलब हुँदैन,’ उनी भन्छिन्, ‘तर, मकै चपाउँदा बच्चाको दाँत कमजोर हुन्छ भन्ने अभिभावक साच्चै मूर्ख हुन्। दाँत भनेको चपाउनकै लागि हो। जति चपायो, दाँत त्यति नै बलिया हुन्छन्।’

डा. उप्रेती अभिभावकहरूमा स्वास्थ्यको सामान्य जानकारीको अभाव रहेको बताउँछिन्। ‘मकैले जस्तो चाउचाउले दाँतको एक्सरसाइज गर्दैन,’ उनी भन्छिन्, ‘जंक खानेकुरा दाँतमा अड्किन्छ। यसले दाँतमा किरा लगाउँछ। जंकफुडको असर शरीरका विभिन्न अंगमा पर्छ, दाँतदेखि मुटुसम्म।’

आमाबाउले बच्चाहरूको स्वास्थ्यलाई लिएर हेलचेक्य्राइँ गर्ने गरेको उनको भनाइ छ। ‘बच्चाहरूको दाँत त हो, बिग्रिए नयाँ आइहाल्छ नि भन्ने चलन छ,’ उनी भन्छिन्, ‘तर, पहिलाको दाँत राम्रो भएन भने पछि आउने दाँत पनि राम्रो हुँदैन। दाँत नराम्रो भएपछि खानेकुरा राम्रोसँग चपाउन सक्दैनन्। चपाउन नसकेपछि खानेकुरा राम्रोसँग पच्दैन।’

पत्रु खानेकुरा

रोइरहेका बच्चाबच्ची फकाउन अधिकांश अभिभावकचाउचाउ, चिजबल्स, चिप्स, चटपटे, चोकोपाई, चोकोफन, किन्डरजोय, क्याड्बरी, लेज, कुर्कुरे आदिको सहारा लिन्छन्। यस्ता जंक खानेकुरालाई पोषणविद् अरुणा उप्रेती ‘पत्रु खानेकुरा’ भन्छिन्। 
काठमाडौँ, महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा सधैँ बिरामी बालबालिकाको घुइँचो लाग्छ।

आइतबारअस्पताल क्षेत्रमा बच्चाको उपचारका लागि थुप्रै अभिभावक कुरिरहेका थिए। प्रायः बच्चा कोही चाउचाउ चपाउँदै, कोही बिस्कुट टोक्दै, कोही चिजबल्सको प्याकेट समातरे बसेका थिए। अस्पतालभित्र कुरमुरे, बिस्कुट, जुसको बट्टा, चाउचाउका खोलहरू यत्रतत्र फालिएका थिए। 

अस्पतालको छ नम्बर कोठामा बालरोग विशेषज्ञ डा.सुभाना कार्की उपचार गरिरहेकी भेटिइन्।१३ वर्षका एक बालकको पालो आयो। उनी अन्य बालकभन्दा फरक देखिन्थे। उनको तौल सामान्यभन्दा बढी थियो।

निन्याउरो मुख लगाएर बसेका ती बालक उभिनै नसक्ने गरी अशक्त थिए। रिपोर्ट देखाउन आएका उनका अभिभावकलाई डा.कार्कीले भनिन्, ‘तपाईंहरूको बच्चालाई सुगर भएको रहेछ। चिनी भएको खानेकुरा खुवाउँदै,नखुवाउनुस्। बाहिरका खानेकुरा नखुवाउनुस्। पानी प्रशस्त खुवाउनुहोला।’ 

यति भनेपछि बालकका बुबाले भने, ‘बल्ल १३ वर्ष पुग्यो, यति सानो उमेरमा पनि सुगर लाग्छ ?’ गलत खानपान र अस्वस्थ जीवनशैलीको कारणले यस्तो समस्या देखिएको डा. कार्कीले बताइन्। ‘बच्चाको अवस्था हेर्दा अस्पतालमै भर्ना गर्नुपर्ने देखिन्छ,’ डा. कार्कीले भनिन्, ‘एउटा फर्म भर्नुहोस्। उसलाई केही दिन अस्पतालमा राख्नुपर्छ।’

अभिभावकहरूले आफ्ना बच्चालाई घरमा कम बाहिर लगेर बढी खुवाउने डा. कार्की बताउँछिन्। ‘बाहिरका खानेकुरा सजिलै उपलब्ध र स्वादिलो हुने भएकाले त्यसमा बच्चाहरू छिट्टै आकर्षित हुन्छन्,’ उनी भन्छिन्, ‘पहिला जंकफुडले बच्चाहरूमा कुपोषण भएको पाइन्थ्यो भने अहिले मोटोपनाको समस्या धेरै देखिन थालेको छ।किशोरीहरूमा भने पछि गएर महिनावारीमा समस्या देखिन थालेको छ।’

बढ्ने उमेरका बालिकाहरूमा प्रजनन स्वास्थ्य राम्रो बनाउन महिनावारी सुरु भएपछि प्रोटिन, क्याल्सियम चाहिने उनी बताउँछिन्। ‘तर, उनीहरू बिहान, दिउँसो, बेलुका तिनै समय चाउचाउ खाएर बसिरहेका हुन्छन्,’ उनले भनिन्, ‘किशोरावस्थादेखि नै खानेकुरामा ध्यान नपुर्‍याउँदा युवावस्थामा धेरै समस्या आउँछन्।’

अभिभावक सचेत हुनुपर्ने डा. कार्की बताउँछिन्। ‘आफू पनि कसैकोमा जाँदा जंकफुड बोकेर जानु हुँदैन,’ उनले भनिन्, ‘अरूलाई पनि घरमा ल्याउन दिनु हुँदैन। एकपटक स्वाद बसेपछि लत बस्छ। लत बसेपछि त्यो खानेकुराको तलतल लागिरहन्छ। घरको खानेकुरा खाने बानी भएकाले कहिल्यै पनि बाहिरको खानेकुरा खोज्दैनन्।’

बालबालिकाले बाहिर खान खोजेका खानेकुरा पनि घरमा बनाएर खुवाउन सकिने उनी बताउँछिन्। ‘बाहिर पकाएको मःमः, पिज्जा अस्वास्थ्यकर भएपछि त्यो जंक हुन्छ,’ उनी भन्छिन्, ‘तर, घरमै मःमः, पिज्जा बनाउने हो भने ती खानेकुरा स्वास्थ्यकर हुन्छन्। घरमै मीठा खानेकुरा पाक्न थालेपनि बच्चाहरू बाहिरको खानेकुराप्रति आकर्षित हुँदैनन्।’

अस्पतालभित्रै जंकफुड

काठमाडौँ, चण्डोल बस्ने कौशिला तामाङ छोरालाई सञ्चो नभएरउपचारका लागि कान्ति अस्पताल आएकी थिइन्।जँचाएर बाहिर निस्किनेबित्तिकै उनको छोराले भने, ‘ममी भोक लाग्यो’। कौशिलाले आफ्नो झोलाबाट चोकोपाईको प्याकेट निकालिन् र छोरालाई दिइन्।

उनका छोरा त्यही चोकोपाईको प्याकेट खोलेर खान थाले।भर्खरैमात्र भित्र स्वास्थ्यकर्मीले उनलाई ‘छोरालाई बाहिरको खानेकुरा नखुवाउनुस् है’ भनेर पठाएका थिए।‘बाहिरको खानेकुरा धेरै खाएर बिरामी परेको रहेछ,’ कौशिलाले भनिन्, ‘घरको खानेकुरा खानै मान्दैन। सञ्चो हुँदा त घरको खानेकुरा खान मान्दैन, बिरामी हुँदा झन् के मान्ला?’ छोराले महिनौँदेखि घरको खानेकुरा नखाएको उनले बताइन्। ‘घरमा किरानापसल छ,’ उनले भनिन्, ‘पहिलो दिन चकलेट, दोस्रो दिन बिस्कुट, तेस्रो दिन चाउचाउ गर्दागर्दै बानी पर्‍यो। अहिले दालभात–तरकारी सबै त्यही पसलकै खानेकुरा भएको छ।’

अस्पतालसम्म बच्चाहरूजंकफुड बोकेर आउने स्विकार्छिन्, डा. सुभाना कार्की। ‘हामीले जाँच गर्ने ठाउँमै चिजबल्स र चाउचाउका पोका बोकेर आउँछन्,’ उनले भनिन्, ‘बच्चाले मानेन, फकाउनका लागि दिएको भन्छन्। प्रायः बालबालिका त्यस्तै खानेकुरा खाएर बिरामी भएका हुन्छन्।’ बालबालिकालाई जाँच गर्नुभन्दा पहिलॉबितेको २४ घण्टाभित्र बच्चालाई के–के खुवाउनुभयो?’ भनेर डा. कार्की प्रत्येक अभिभावकलाई सोध्छिन्।

‘चाउचाउको सुप र बिस्कुट र चिया’ भनेर अभिभावकको जवाफ आउने उनी बताउँछिन्। अरू बेलाभन्दा बिरामी भएको बेलामा अभिभावकले झन् धेरै जंक खानेकुरा खुवाउने उनी बताउँछिन्।‘‘बच्चाले दालभात खान मान्दैन’ भन्नुहुन्छ,’ उनी भन्छिन् ‘‘बिरामी भएको बेलामा जे खान्छु भन्यो, त्यही दिनुपरिहाल्यो नि’ भनेर अभिभावकहरू सुनाउँछन्। यसले बच्चालाई निको हुनुभन्दा झन् बिरामी बनाउँछ’।’

घरको खानेकुरा लैजान लाज

काठमाडौँ, स्वयम्भू बस्ने आरतीबुढाथोकीकी एक छोरी छिन्। चार कक्षामा पढ्ने आफ्नी छोरीलाईउनी सकेसम्म जंक खानेकुराबाट टाढा राख्ने कोसिस गर्छिन्।‘टिफिनमा म सधैँ घरको खानेकुरा पठाइदिन्छु,’ उनले भनिन्, ‘एकदिन रोटी र भुटेको आलु खाजा पठाएकीथिएँ। त्यो दिन बेलुका छोरी रुँदै आइन्। ‘अबदेखि खाजा पनि लैजादिनँ, खाँदा पनि खाँदिन’ भन्न थालिन्।’ आरतीले छोरीको कुरा बुझ्न सकिनन्।

उनले छोरीलाई‘के भयो ?’ भनेर सोधिन्। ‘तिम्रो खाजा कस्तो फोहोर’ भन्दै स्कुलका साथीहरूले आफ्नी छोरीलाई जिस्काएको उनले बताइन्।‘उनका सबै साथी बाहिरबाट प्याकेटका खानेकुरा खाजा ल्याउने रहेछन्,’ उनले भनिन्, ‘मैले उसलाई त्यस्ता खानेकुराले बिरामी परिन्छ भनेर सम्झाएँ।तर, छोरीको खासै चित्त बुझाउन सकिनँ।’ त्यसको एक हप्तापछि छोरी एकदमै खुशी हुँदै घर आएको उनले बताइन्। ‘त्यो दिन शिक्षकले उनको कक्षामा सबैको खाजा हेरेछन्,’ आरतीले भनिन्, ‘ती शिक्षकले ‘आज सबैभन्दा राम्रो खाजातिम्रो’ भनिदिएछन्।त्यो दिन मैले भुटेको चिउरा, बदाम र आलुको तरकारी पठाइदिएकी थिएँ।’

‘घरको खाजा पठाउँदा बच्चाले फिर्ता ल्याउँछन्’ भन्ने धेरै अभिभावकको गुनासो भएको पोषणविद् डा. उप्रेती बताउँछिन्। ‘बच्चाहरूलाई सानैदेखि जस्तो खानपानको संस्कार दियो, पछि त्यस्तै भएर निस्किन्छन्,’ उनी भन्छिन्, ‘घरको खानेकुरालाई बेइज्जत र बाहिरको खानेकुरालाई इज्जतसँग जोड्न थालिएको छ। यो एकदमै गलत हो।’

खानेकुरामा अभिभावक र शिक्षकले बालबालिकालाई राम्ररी सम्झाउनुपर्ने उनी बताउँछिन्। ‘कस्तो खानेकुरा खुवाउने भन्नेमा स्कुलको ठूलो भूमिका हुन्छ,’ उनले भनिन्, ‘स्कुलमा शिक्षकहरूले ‘घरको खानेकुरा मात्र ल्याउनू, बाहिरको ल्याउँदै नल्याउनू’ भनेर कडाइ गर्‍यो भने बालबालिकाले जंकफुड खान धेरै कम गर्छन्।’ कुनै–कुनै स्कुलले कोसिस गरेको, तर खासै प्रभावकारी हुन नसकेको उनको अनुभव छ।

‘जंकफुडखान नदिन पहिलो भूमिका अभिभावक, दोस्रो शिक्षक र तेस्रो स्वास्थ्यकर्मीको हुन्छ,’ उप्रेती भन्छिन्, ‘जंकफुडले बिरामी भएर हातमा चाउचाउको प्याकेट बोकेर आउने बच्चालाई ‘यस्ता खानेकुरा खानुहुँदैन’ भनेर स्वास्थ्यकर्मीलेसम्झाउनुपर्छ।’

चाउचाउ बनाउँछन्, तर खाँदैनन्

काठमाडौँ, कपनका भीम (नाम परिवर्तन) काठमाडौँस्थित एक चाउचाउ कम्पनीको मथिल्लो तहका कर्मचारी हुन्। उनले चाउचाउ कम्पनीमा काम गर्न थालेको लामो समय भइसक्यो। त्यहीँ काम गरेर उनले कपनमा दुईतले घर बनाएका छन्।दैनिक हजारौँ प्याकेट चाउचाउ उत्पादन गर्ने कम्पनीमा काम गर्ने भीमको घरमा अहिलेसम्म एक प्याकेट चाउचाउ पनि भित्रिएको छैन। ‘चाउचाउ कसरी बन्छ, मैले देखेको छु,’ उनले ‘सम्पूर्ण’सँग भने, ‘त्यो स्वास्थ्यकर हुँदैन भन्ने थाहा पाएर मैले घरमा लैजाने गरेको छैन। मेरा दुईजना छोराछोरी छन्। उनीहरूलाई कहिल्यै पनि चाउचाउ खान दिएको छैन।’ 

बालरोग विशेषज्ञ डा. कार्कीका अनुसार चाउचाउ, बिस्कुटजस्ता जंकफुडमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन र सूक्ष्म पौष्टिक तत्त्व हुँदैनन्। यस्ता खानेकुरा खाँदा शारीरिक र मानसिक विकासमा असर पुगीदीर्घकालीन रूपमा अनेकौँ स्वास्थ्य समस्या निम्तिन सक्छन्। ‘पछिल्लो समय बच्चाहरूमा समेत मुटु रोग, मधुमेह, उच्च रक्तचाप देखिन थालेको छ,’ उनी भन्छिन्, ‘त्यसको प्रमुख कारण जंकफुड, फास्ट फुड, बढी चिल्लो भएका, नुनिला र तारेका खानेकुरा हुन्।’

यस्ता खानेकुरा खाँदा रोगसँगै अत्यधिक मोटोपन, डिप्रेसन, हड्डी कमजोर हुने समस्या आदि देखापर्ने उनी बताउँछिन्। ‘विद्यालय जाने उमेरका बालबालिका र किशोर–किशोरीलाई प्रोटिन, मिनरल, कार्बोहाइड्रेट, क्यालोरी, फ्याट र भिटामिनयुक्त खाना आवश्यक पर्छ,’ कार्की भन्छिन्, ‘त्यसका लागि सकेसम्म ताजा र घरैमा बनेका पौष्टिक तत्त्व पाइने खानेकुरा मकै, भटमास, चना, रोटी, आलु, सागसब्जी, फलफूल खुवाउनुपर्छ।’

गाउँघरको जंकफुड मोह

शहरमा मात्र होइन, गाउँघरतिर पनि जंकफुडले जरा गाडिसकेको पोषणविद् डा. उप्रेती बताउँछिन्। ‘केही समयअघि म सल्यानको एउटा गाउँमा गएकी थिएँ,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘पाँच वर्षकीएकजना बच्ची एकदमै बिरामी थिइन्।आमाको काखमा झोक्राएर बसेकी थिइन्।

उनलाई दुर्ई महिना अस्पतालमा राखेर ल्याइएको रहेछ।’जंकफुडका कारण ती बालिकाको स्वास्थ्य बिग्रिएको थियो। ‘चाउचाउबाहेक केही नखाने रहिछिन्,’ उनी सम्झन्छिन्, ‘सल्यानबाट नेपालगञ्ज अस्पताल लगेर त्यहाँको पोषण पुनःस्थापना केन्द्रमा दुई महिना राख्नुपरेको रहेछ। केही समय ढिला भएको भए उनको ज्यानै जान सक्थ्यो।’

शहरबजारमा मात्र नभएर गाउँघरमा पनि जंकफुडको समस्या उस्तै रहेको उनको अनुभव छ। ‘आफ्ना परम्परागत स्वस्थ खानेकुरा बिर्सिएर बाहिरी खानेकुराको पछि लाग्दा यस्ता समस्या आउँछन्,’ उप्रेती भन्छिन्, ‘बाहिरी जिल्लामा झन् साना प्याकेटमा कम पैसामा चाउचाउ पाइने रहेछ। खोलेर हेर्दा म्याद नाघिसकेका चाउचाउ हुँदा रहेछन्।

नाम नै नलेखेको प्याकेटमा हालेर बेचिराखेको पाएँ।’ म्याद नाघिसकेको खानेकुरामा ढुसी आउने भएकाले यसले बच्चाको कलेजोमा असर पुर्‍याउने उनी बताउँछिन्। ‘गाउँघरतिर कतिपय अभिभावकले आफ्नो बारीमा फलेका तरकारी र फलफूल बेचेर बच्चालाई टिफिनमा जंकफुड किनेर पठाइदिन्छन्,’ उनी भन्छिन्, ‘त्योभन्दा ठूलो मूर्खता अरू के नै होला र ?’ 

अज्ञानको कारणभन्दापनि अल्छीपनको कारण धेरै अभिभावकले आफ्ना बच्चालाई जंकफुडको दलदलमा धकेलिरहेको उनी बताउँछिन्। ‘हतार भयो भनेर धेरै अभिभाभवकले फास्टफुड, रेडिमेड फुुड रोज्छन्,’ उप्रेती भन्छिन्, ‘हाम्रा पनि चिउरा, भुटेको चना, मकै, भटमास जस्ता फास्टफुड र रेडिमेड फुुड छन्।’

बाहिरका फास्टफुडभन्दा घरका फास्टफुड निकै सस्ता र स्वास्थ्यकर भएको उनी बताउँछिन्। ‘२० रुपैयाँको चाउचाउभन्दा चिउरा बढी फारो हुन्छ,’ उनी भन्छिन्, ‘शहरी फास्टफुडभन्दा परम्परागत फास्टफुड खानुबेस हुन्छ। तर, अहिले त केक नभई कुनै पार्टी नै हुँदैन। सेल, पुरी, मालपुवा पकाउने चलन हटेर गइसक्यो।’ पुर्खाहरूले जे खाए, त्यो नै स्वस्थ र राम्रो खाना भएको उनी बताउँछिन्। खानेकुराले मानिसको जीवनमा जन्मदेखि मृत्युसम्म अर्थ राख्ने उनको ठहर छ। ‘आमाले जे खान्छिन्, त्यसको असर बच्चामा पर्छ,’ उनी भन्छिन्, ‘मान्छे मरेपछि हामी भातको पिण्ड दिन्छौँ। चाउचाउको पिण्ड त दिँदैनौँ नि।’

छुट्टी हुनासाथ हातमा जंकफुड

भक्तपुर, बालकोटस्थित माउन्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन जंकफुडले बच्चाहरूलाई छिट्टै लोभ्याउने बताउँछन्। ‘जंकफुडमा अनेकथरी गेम र स्टिकर राखिदिएको हुन्छ,’ उनी भन्छन्, ‘त्यही पाउनका लागि भएपनि आमाबुबासँग झगडा गरी–गरीबच्चाहरू जंकफुड किन्छन्।’ आफ्नो स्कुलमा जंकफुडनिषेध गर्न निकै कोसिस गरेको, तर सफल नभएको महर्जनको नमीठो अनुभव छ।

‘हामीले ब्यान गरे पनि लुकाई–लुकाई खान्छन्,’ उनी भन्छन्, ‘हामीले थाहा नपाउने गरी लुकी–लुकी खान्छन्। अभिभावकलाई ‘किन जंकफुड पठाएको ?’ भनेर सोध्यो भने ‘भ्याइएन सर, आज एकदिन मात्रै हो,भोलिदेखि पठाउँदैनौँ’ भन्छन्। त्यो भोलि कहिल्यै आउँदैन।’ स्कुलभित्र नियन्त्रण गर्न खोजेपनि स्कुलबाहिर केही सीप नलाग्ने उनी बताउँछन्। ‘स्कुल छुट्टी हुनासाथ विद्यार्थीहरू लहरै पसलतिर कुदिहाल्छन्,’ प्रिन्सिपल महर्जन भन्छन्, ‘सबैका हातमा जंकफुडका प्याकेट हुन्छन्। विद्यालयवरपर यस्ता पसलहरू राख्न नदिने हो भने स्कुले विद्यार्थीलाई केही हदसम्म जंकफुडबाट टाढा राख्न सकिन्थ्यो कि ?’

धेरै अभिभावक जंकफुुड खुवाउनुलाई आफ्नो बाध्यता ठान्छन्। तर, यो कुरा मान्न तयार छैनन्, पोषणविद् डा. उप्रेती।‘जानी–जानी अस्वास्थ्यकर खानेकुरा खुवाउनुपर्ने विवशता हुँदैन,’ उनी भन्छिन्, ‘त्यो त एउटा बहाना मात्र हो। आजभन्दा पहिला जंकफुड नहुँदा स्कुले बच्चाहरू भोकै बसेका थिए र ?’ 

पसलमा सामान किनेर ल्याउने बेलासम्म घरमै खाजा तयार गर्न सकिने उनी बताउँछिन्।‘यो समयको समस्या होइन, मानसिकताको समस्या हो,’ उप्रेती भन्छिन्, ‘भोलि छोराछोरीलाई अस्पतालको बेडमा कुर्नुभन्दा आज उनीहरूको स्वास्थ्यमा ध्यान दिनु बेस हुन्छ। बच्चा बिरामी पर्दा अभिभावक आफैँलाई अप्ठ्यारो पर्छ।’ 

0 comments:

Post a Comment