‘दूध–दही बेचेर ड्यु किन्छन्, जुन घरमा जाँदा पनि ड्युले स्वागत गर्छन्’
काठमाडाैँ- ‘डरको अगाडि जित छ’ माउन्टेन ड्युको यो स्लोगन अहिले पनि धेरैको मुखमा झुण्डिन्छ । स्लोगन मात्रै नभएर यसको स्वादसमेत हाम्रो जिब्रोमा नराम्रोसँग गडिसकेको छ । ड्युको विज्ञापन हेर्दा लाग्छ– ड्यु खाएपछि बुर्ज खलिफाबाट हामफाल्नेदेखि हिमपहिरोसँग पौंठेजोरीसम्मको हिम्मत आउँछ । तर, के यो वास्तविकता हो त ?
रामेछाप, गोकुलगंगा गाउँपालिका–५ की रोमिया खड्का आजभोलि जसको घरमा जाँदा पनि ड्युले स्वागत गरेको पाउँछिन् । ‘पहिला–पहिला गाउँ जाँदा आफन्तहरूले दही÷मोही खुवाएर स्वागत गर्थे,’ उनले सुनाइन्, ‘अहिले जसको घरमा जाँदा पनि पानीभन्दा पहिला ड्यु ल्याएर तेर्स्याउँछन् । घरको दूध, दही, मोही डेरीमा लगेर बेचेर ड्यु किनेर ल्याउँछन् ।’
रोमियाका अनुसार मानिसहरू पहिले धारो वा पँधेरोबाट गाग्रोमा पानी बोकेर ल्याउँथे । अहिले पानी बोक्ने डोकोमा गाग्री होइन,ड्युका बोतल हुन्छन् । ‘उहिले तामाको गाग्री बोक्थे, सिलाबरको गाग्री आएपछि तामाको गाग्री लोप भयो,’ उनले भनिन्, ‘अहिले त्यसलाई ड्युको बोतलले विस्थापित गर्यो । सिलाभरको भाँडा त हाम्रो स्वास्थ्यका लागि राम्रो होइन भन्छन् । एकपटक मात्रै प्रयोग गरेर फ्याँक्न बनाइएको बोतलले झन् कति असर गर्ला ? म त मान्छेहरूलाई सम्झाउँदा–सम्झाउँदा थाकिसकेँ ।’
केही दिनअघि रोमियाको खेतमा रोपाइँ थियो । परिवारसँग सल्लाह गरेर यसपटक ड्युको सट्टा दही लैजाने निर्णय उनीहरूले गरे । ‘खेतालाहरूको स्वास्थ्यको ख्याल राख्दै ड्युको साटो दही लिएर गयौँ,’ उनले भनिन्, ‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरू आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भने कुरा काटेर बसिसाध्य हुँदैन ।’
डाइटिसियन अनुश्री आचार्य आजभोलि प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्सलाई मानिसहरूले प्रतिष्ठासँग जोड्ने गरेको बताउँछिन् । ‘गाउँघरमा बरु भनेको बेलामा दाल, चामल, दूध, दही किन्न नपाइन सक्छ तर, प्याकेटका खानेकुरा र कोल्ड ड्रिंक्स जताततै पाइन्छ,’ उनी भन्छिन् ।
त्यस्तै, ड्युलाई दही मोहीसँग तुलना नै गर्न नमिल्ने उनी बताउँछिन् । ‘कोल्ड ड्रिंक्समा अत्यधिक रिफाइन्ड सुगर हालेको हुन्छ,’ उनी भन्छिन्, ‘दूध दहीमा हुने न्युट्रिसान भ्यालू सुगरी डिं«कमा पाइँदै पाइँदैन । यो कुरा हामीले मानिसहरूलाई बुझाउन सकिरहेका छैनौँ ।’
गाउँघरमा गर्मी मौसममा दही÷मोही नहुनेले सर्बत बनाएर दिने चलन भएको बताउँदै उनी भन्छिन्, ‘पहिला कागती पानीको सर्बत, लस्सी बनाएर दिने चलन थियो । ‘अहिले हरेकको घरमा ड्यु हुन्छ । सबैले ड्युको चलन झिकेपछि अरुले पनि त्यसलाई फलो गर्दै गएको देखिन्छ ।’
दही-मोहीका फाइदा, ड्युका बेफाइदा
दूधबाट दही बन्दा विशेष प्रकारको कीटाणु पैदा हुन्छ । पोषणविद्हरूका अनुसार यसले हाम्रो स्वास्थ्यमा सकारात्मक काम गर्छ । बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाको हाडका लागि नभइ नहुने क्याल्सियम दहीमा पाइन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी हुन्छ । दही मथेर बनाइएको मोही पिएमा शरीर निरोगी र तन्दुरुस्त हुने पोषणविद्हरू बताउँछन् । उनीहरूको अनुसार मोहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । यसमा पोटासियम, क्याल्सियम, प्रोटिन जस्ता तत्व पनि समावेश हुन्छ । मोहीले खासगरी पाचन यन्त्रलाई राम्रो बनाउँछ । खानेकुरा पचाउनमा यसले सहयोग गर्छ । मोहीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरमा पानीको अभाव हुन दिँदैन ।
‘यत्रो रोपाइँमा एउटा ड्यु पनि खुवाउन नसकेको भन्दै उनीहरूले आफैँले मगाएर खाए । अहिले त खेतमा गएका मान्छेलाई ड्यु ख्वाएन भनेर कुरा काटेर बसिसाध्य हुँदैन ।’
तर, ड्यु जस्तो सुगरी ड्रिंक्सले तौल बढाउँछ । दाँतमा समस्या देखिन्छ । नियमित रुपमा ड्यु पिउनाले मधुमेहको जोखिम उच्च हुन्छ । यसमा बढी मात्रामा चिनीको प्रयोग हुने भएकाले स्वास्थ्यमा एकदमै नराम्रो असर पुर्याउने पोषणविद्हरूको भनाइ छ । यस्ता ड्रिंक्समा चिनी बढी हुन्छ । धेरै प्रयोग गर्नेको स्वास्थ्यमा असर गर्छ । यस्ता ड्रिंक्समा ‘ब्रोमिनेटेड भेजिटेबल ओयल’ हुन्छ जसले स्वास्थ्यलाई राम्रो गर्दैन। त्यस्तै, यस्ता चिनीयुक्त पेयपदार्थमा हुने हानिकारक केमिकलले स्मरण शक्तिमा ह्रास ल्याउनेदेखि प्रजनन क्षमतामा समेत असर गर्ने उनीहरू बताउँछन् ।
जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती नेपालमा पछिल्लो समय चिनीरोग बढ्नुको प्रमुख कारण यस्तै चिनीयुक्त पेय पदार्थलाई मान्छिन् । ‘कतिपय प्रयोगकर्ताहरूलाई यसले शरीरलाई असर गर्छ भन्ने नै थाहा छैन,’ उनी भन्छिन्, ‘अहिले धेरैमा कलेजोको समस्या देखिएको छ । प्राय कलेजोको समस्या रक्सी खानेहरूलाई देखिन्छ । तर, अहिले धेरै बालबालिकाको कलेजोमा बोसो जमेको देखिन्छ । यो सबैको कारण यस्तै चिनीयुक्त ड्रिंक्स नै हो ।’
सरकारले दीर्घरोगीहरूलाई उपचारका लागि खर्च गर्नुभन्दा रोग लाग्नै नदिनतर्फ ध्यान दिनुपर्ने उनी बताउँछिन् । ‘ड्युमा पैसा हाल्नु भनेको आफ्नो स्वास्थ्यलाई बिगारेर उपचारको लागि थप पैसा खर्च गर्न तम्तयार पार्नु हो,’ उनी भन्छिन् ।
डाइटिसियान आचार्य स्थानीय सरकारले यस्तो विषयमा जनचेतना फैलाउनुपर्ने बताउँछिन् । ‘वडाले नै स्थानीय स्तरमै पाइने दूध, दही, मोहीलाई प्राथमिकतामा राख्ने कार्यक्रम ल्याउनुपर्छ,’ उनी भन्छिन्, ‘ड्यु-कोक जस्ता पेय पदार्थले स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने जानकारी दिनुपर्छ । तर, हाम्रोमा किराना पसलमा त्यस्ता ड्रिंक्स जताततै पाइन्छन् । दूध÷दही खोज्दै हिँड्नुपर्ने अवस्था छ ।’
दैनिक यस्ता प्रकारका पेय पदार्थ पिउँदा ५ देखि १० वर्षभित्र मधुमेह देखिने खतरा बढी हुने उनी बताउँछिन् । ‘बालबालिकालाई त झन् यस्ता पेय पदार्थले झनै धेरै असर गर्छ उनी भन्छिन्, ‘हेर्दा समान्य लागे यो विषयमा बेलैमा ध्यान पुर्याइएन भने भोलिको दिनमा हामीले ठूलै मूल्य चुकाउनुपर्ने हुन्छ ।’
0 comments:
Post a Comment