Thursday 1 September 2022

श्रीमानबाटै एसिड पीडित जेनी : 'जब सुन्दरतासँग मतलब हुँदैन्, तब एसिड अट्याक आफै हट्छ'

 सृजना खड्का |

कात्तिक १, २०७७ ९:१८ बजे

काठमाडौं : काठमाडौं कालोपुलमा जन्मिएकी हुन, जेनी खड्का । त्यहाँ उनको परिवार किराना पसल चलाउथ्यो । किराना पसल छेउमा उनीहरुको सानो होटल पनि थियो ।

त्यतिबेला जेनी भर्खरै १४ वर्ष पुरा भएर १५ लागेकी थिइन् । उनीभन्दा दोब्बर उमेरका एकजना युवक उनीहरुको पसलमा आइरहन्थे । जेनी उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । एकदिन पसलमा आइरहने ति युवाले जेनीकी आमासँग भने ‘म तपाईंकी छोरीलाई मन पराउँछु, उनीसँग बिहे गर्न चाहन्छु ।’ उनका बुबा त्यो बेला गाँउ (दोलखा) गएका थिए । आमाले ‘यसको बुबालाई सोध्नुपर्छ’ भनेर टारिन् ।


जेनीकी एकजना साथी जसले ति युवकलाई चिन्थिन् । उनैले जेनीलाई भनिन्- ‘केटा राम्रो छ, हातमा सिप छ बिहे गर तलाईं जहाँ लगेर भएपनि पाल्छ ।’ ति युवक बाइक बनाउने हेड मिस्त्री थिए ।

एकदिन ति युवक बाइक लिएर आए । जेनीकी साथीले युवकको बाइकमा धकेल्दै बस्न लगाइन् । जेनी बाइकमा बसिन । बाइकको बाइकै उनीहरु ओखलढुङ्गा पुगे । त्यहाँ उनीहरुले आफन्तको सहयोगमा ‘सिन्दुर पोते’ गरे ।

‘मलाई लाज लाग्छ है सिन्दुर म आफैँ हाल्छु’ जेनीले त्यो बेला भनेकी थिइन् । अहिले त्यो कुरा सम्झिदा उनलाई अचम्म लाग्छ । ‘त्यो बेला मलाई उसले सिन्दुर हालेपछि मात्र हाम्रो बिहे हुन्छ भन्ने पनि थाहा थिएन’ उनले भनिन् ।

यो २०७२ सालतिरको कुरा हो । उनी दश कक्षा पढ्दै थिइन् । बिहे गरेको एकदुई महिनासम्म उनी खुशी नै थिइन् । तर, त्यसको केहि समयपछि झै-झगडाको श्रृङ्खला सुरु हुन थाल्यो । जेनीका श्रीमान् विष्णु भुजेलको आनीबानीमा बिस्तारै परिवर्तन आउन थाल्यो । उनी दिनहुँजसो रक्सी खाएर आउन थाले । ‘उसले सम्झाइबुझाई गर्नुपर्ने उमेरको मान्छे म आफैले उसलाई सम्झाउनु र सम्हाल्नु परेको थियो,’ जेनीले विगतलाई सम्झिइन् ।

नयाँ नाम, पुरानो जिन्दगी
एकदिन जेनीले विष्णुबारे एउटा अपत्यारिलो सत्य सुनिन् । जुन खबर सुनेपछि उनले आफूले आफूलाई सम्हाल्न सकिनन् । विष्णुले पहिले पनि बिहे भइसकेको रहेछ । पहिलो श्रीतमीबाट उनका सन्तान पनि रहेछन् । त्यो सत्य सुनिसकेपछि जेनीले विष्णुसँगै बस्न नसक्ने कुरा सुनाइन् ।

यसै विषयलाई लिएर उनीबीच कैयौँ पटक झै-झगडा भइरह्यो । १०-१२ पटक त जेनी आफ्नो गुनासो लिएर प्रहरी चौकी पनि गइन् । ‘धेरैचोटी च्यातिएको कपडा र कुट्दाकुट्दैको आलो घाउ लिएर चौकी पुगेको छु,’ उनले  भनिन् ।

‘बुढाबुढीको झगडा परालको आगो’ हरेक पटक न्याय स्वरुप उनले यस्तै-यस्तै शब्दहरु पाउँथिन् । यसैबीचमा उनीहरुको छोरा भयो ।

छोरा १४ महिनाको भएपछि उनी विष्णुबाट टाढा हुन काभ्रे, बनेपा आइन् । त्यही एउटा कोठा भाडामा लिएर बस्न थालिन् । भागेर बिहे गरेकाले माइत जाने आँट उनले गरिनन् । गाडामा कस्मेटिक सामानहरु बेचेर गुजारा चलाउन थालिन् । विष्णुले उनीहरु बसेको ठाँउ पत्ता लगाएर फोनबाट विभिन्न धम्की दिन थाले । पछि उनी बनेपा छाडेर काठमाडौँ, कालोपुल आएर बस्न थालिन् ।

तस्बिर : अर्जुन शाह
तस्बिर : अर्जुन शाह

विष्णुको डरले तीन महिना उनी कोठाबाट बाहिर निस्किनन् । यो बेला माइती पक्षले उनलाई सहयोग गर्‍यो । ‘कति डराउनु जे पर्ला-पर्ला  भनेर तीन महिनापछि बाहिर निस्किएँ,’ उनले भनिन्, ‘पेट पाल्नकै लागि भएपनि एउटा सहकारी संस्थामा मार्केटमा घुमेर पैसा उठाउने काम गर्न थालेँ ।’

उनको वास्तविक नाम बुनु हो । तर, पछि उनले आफ्नो नाम जेनी राखिन् । यसका पछाडि दुइटा कारण लुुकेका थिए । पहिलो, उनी नयाँ नामबाट नयाँ जिन्दगीको आरम्भ गर्न चाहन्थिन् । दोस्रो, नयाँ नामबाट चिनिएपछि श्रीमान्को पिछा छुट्ला भन्ने उनले सोचेकी थिइन् । तर, जति नै नयाँ नाम राखेपछि पुरानो जिन्दगीले भने उनको पिछा छाडेन । विष्णुले फोन गरेर यातना दिन छाडेनन् ।

'एसिड हो एसिड’
जेनी आफ्नो जीन्दगीलाई सामान्य बनाउने प्रयत्नमा थिइन् । एकदिन हरियो कुर्था सुरुवालमा सल भिरेर उनी अफिस हिँडिन् । त्यसदिन अफिसका साथीहरुले उनको सुन्दरताको प्रशंसा गर्दै भने- ‘आज मिस कति राम्री भएर आउनु भएछ ।’

त्यही प्रशंसा सम्झिएर मुस्कुराउँदै बेलुका उनी घर आइन् । त्यसदिन विष्णुले लगातार उनलाई फोन गरिरहेका थिए । धेरैचोटि उनले फोन उठाइनन् । तर, अति नै भएपछि फोन उठाइन् । फोनमा उताबाट ‘तँ कहाँ हो?’ भनेको आवाज आयो । उनले ‘घरमै हो’ भनेर जवाफ फर्काइन् । विष्णुले उनलाई घरबाहिर आउन अह्राए ।

‘घर बाहिर आएर लगातार फोनमा धम्काउन थाल्यो,’ उनले भनिन्, ‘टोलमा आएर हंगामा नमच्चाओस् भनेर म बाहिर निस्किएँ । भोलि समाजले कुरा नकाटोस्, औला नठर्‍याओस भनेर म बाहिर निस्किएकी थिएँ ।’

कालोपुल नजिकै बाटोमा उभिएर उनीहरु कुराकानी गर्न थाले ।

तँ मसँग जाने कि नजाने भनेर आज अन्तिम पटक सोध्न आएको ?’ विष्णुले भने ।

‘राम्रो व्यवहार गर्छस् भने सोचौँला तर, यहि पारा हो भने तेरो अनुहार फर्किएर पनि हेर्ने इच्छा छैन’, जेनीले जवाफ फर्काइन् ।

यो के हो थाहा छ तलाईं’ विष्णुले रक्सीको बोतल खल्तीबाट निकालेर जेनीतिर देखाए ।

‘जड्याहसँग के हुन्छ जाँड होला नि’ उनले भनिन् ।

बिर्को खोलेर ‘एसिड हो एसिड’ भन्दै विष्णुले जेनीको अनुहारमा हालिदिन खोजे ।

‘उसले एसिड छ्याप्ने बेलामा ठ्याक्क मैले सल मिलाउन लागेको बेला परेछ,’ उनले भनिन्, ‘टाउको बटारेर सल मिलाउन लाग्दा उसले एसिड छ्याप्यो । देब्रेपट्टि च्यूडोदेखि मुनिको भागमा एसिड पर्‍यो ।’

‘एसिडको बदला एसिड’ भनेर एसिड आक्रमणमा परेकाहरुले भन्ने गरेका छन् । जेनीलाई पनि त्यही लाग्छ । किनभने, शरीरमा एसिड परेपछिकोे पीडालाई उनी शब्दमा बयान गर्न सक्दिनन् । त्यसैले त जेनीलाई लाग्छ भोग्नेलाई बाहेक यसको व्यथा अरुलाई थाहा हुँदैन ।

आक्रमणमा परेपछि ‘बचाऊ  ! बचाऊ !’ भनेर उनी धेरै बेर कराइन् । तर, त्यहाँ उनलाई सहयोग गर्न कोही पनि आएनन् । ‘एकपाइला अगाडि पुलिस चौकी थियो,’ उनले भनिन्, ‘म त्यही जन्मिएकाले मलाई त्यहाँ नचिन्ने कोही थिएनन् । तैपनि, कसैले सहयोग गरेनन् ।’

धेरै हारगुहार गरेपछि स्कुुटर चढेर आएकी एकजना महिलाले उनको सहायता गरिन् । ओम अस्पताल पुर्‍याइन् । त्यहाँ उपचार हुन नसकेपछि उनलाई किर्तिपुर अस्पताल लगियो । त्यहाँ लगातार तीनघण्टासम्म उनको जिउमा पानी खनाइयो ।

दुई महिना उनी अस्पताल बसिन् । डेढ महिनामा उनको उपचार सकिएको थियो । तर, पैसा नतिरेको निहुँमा अस्पतालले १४ दिन उनलाई अस्पतालमै राख्यो  । पछि टोलछिमेकमा पैसा उठाएर उनी अस्पतालबाट डिस्चार्ज भइन् । त्यो दौरानमा पिडितको बाध्यतालाई आफ्नो फाइदा बनाउने धेरै मानिस उनले भेटिन् ।

‘‘पैसा पछि दिन्छु, तर,१० हजार दिएको भनेर तपाइँसँग फोटो खिचेर मिडियामा राखौँ है’ भन्थे,’ उनले भनिन्, ‘पछि त्यो मान्छे कहाँ बेपत्ता हुन्थ्यो कहाँ ।’ त्यस्ता थुप्रै तमासा उनले देखिन्, भोगिन् ।

अस्पतालको बेडमा हुँदा उनलाई कतिबेल यहाँबाट बाहिर निस्किन पाइएला र आत्महत्या गरौँला भन्ने सोच मात्रै आउथ्यो । तर, पछि उनले त्यही सोचलाई शक्तिमा बदलिन् ।

घरमा उचित वातावरण थिएन । त्यसैले अस्पतालबाट निस्किएपछि उनले एउटा एनजीओको सहारा लिइन् । छोरालाई पनि एउटा एनजीओले लिएर गयो । त्यसको केही समयपछि उनले जलनकै विषयमा एउटा एनजीओमा काम पाइन् ।

बाहिर निस्किएर काम गर्न सजिलो थिएन । धेरैथरीका मानिसका धेरैथरी कुरा सुन्नु पर्थ्यो । समाजले उनको पिडालाई सामान्य रुपमा लियो । धेरैले उनलाई भने - ‘ए आफ्नै बुढाले त हालिदिएको रहेछ नि ।’

‘नचिनेको व्यक्तिले एसिड हालेको केसमा धेरै आवाज उठे,’ उनले भनिन्, ‘तर, मेरो केसमा त्यसो भएन । समाजले छोरीलाई बिहे गरिदिने बेलामा ‘मारे पाप, पाले पुण्य’ भनेर सुम्पिन्छ । मार्ने र पाल्ने दुबै अधिकार श्रीमानलाई समाजले दिएको हुनाले उनीहरुको लागि यो सामान्य घटना थियो ।’

उनका श्रीमान् जेलमा छन् । उनीविरुद्द मुद्धा चलिरहेको छ । एसिडसम्बन्धी भर्खरै मात्र नयाँ कानुन आएको छ । नयाँ कानुनलाई लिएर जेनी एकदमै खुशी छिन् । ‘मेरो घटनामा पहिलाकै कानुनअनुसार अदालतले निर्णय गर्छ,’ उनले भनिन्, ‘तर, नयाँ कानुनले नयाँ केस ननिम्त्याउला भन्ने आश गरेकी छु । मेरो केसमा पनि केही हेरबिचार गर्ला भन्ने आश छ ।’

विष्णुलाई आठदेखि १० वर्षको सजाय हुनुपर्छ भन्ने उनलाई लागेको छ । उसलाई सजाय दिनभन्दा पनि ऊ बाहिर निस्किएपछि आफू असुरक्षित भइएला भन्ने चिन्ता उनलाई छ । ‘अरु बहिनीको केसमा जेलबाट फर्किएर त्यो मान्छेले के गर्छ भन्ने थाहा हुँदैन,’ उनले भनिन्, ‘किनभने, उनीहरुले ति व्यक्तिहरुलाई नजिकबाट चिनेका हुँदैनन्, संगत गरेका हुँदैनन् । तर, मैले त्यो व्यक्तिसँग लामो समयसम्म संगत गरेको हुनाले भोलिको दिनमा सुरक्षित हुन्छु भन्नेमा म ढुक्क छैन ।’

‘यो घाउ के घाउ’
आजभोलि विगतमा फर्कन चाहदिनन् उनी । विगतलाई लिएर कुनै पश्चताप पनि छैन उनको । अहिलेको लागि श्रीमानबाट छुटकरा पाउनु नै उनको लागि ठूलो कुरा हो । ‘यो एसिडको घाउभन्दा उसले दिएको घाउ कैयौँ गुणा ठूलो थियो,’ उनले भनिन्, ‘त्यो घाउभन्दा जीन्दगीभर मलाई यो घाउ सहन मन्जुर छ । त्यो घाउ हेरि यो घाउ के घाउ ।’

बुबाको मृत्युपछि अहिले घर उनैले सम्हाल्दै आइरहेकी छिन् । हालैमात्र उनी कुमारी बैँकमा जागिरे भएकी छिन् । दिउँसो जागिर गरेर बिहान कलेज पढ्ने उनको धोको छ ।

उनका छोरा अहिले पाँच वर्षका भए । तर, दुःखको कुरा अहिलेसम्म उनले छोरालाई भने भेट्न पाएकी छैनन् । ‘घटनापछि एनजीओले छोरालाई लग्यो,’ उनले भनिन्, ‘त्यो एनजीओको सम्बन्ध जेलरसँग मात्र हुने रहेछ । मैले धेरैचोटी कोसिस गर्दा पनि उसलाई भेट्न पाइनँ ।’

थोरै उमेरमा धेरै जीन्दगी भोगेकी उनलाई परिस्थितीले बलियो बनाइदिएको छ । त्यसैले त उनको प्रयास सधैँ हास्ने र मुस्कुराउने हुन्छ । ‘हास्ने मौका सधैँ पाइदैन,’ उनले भनिन्, ‘हासिरहेको बेलामा रुन मन लाग्यो भने बरु एउटा बन्द कोठामा गएर रुन सकिन्छ । तर, रोइरहेको बेला हसाउने मानिस जीन्दगीमा कमै मात्र भेटिन्छ । त्यसैले हास्ने मौका म कहिल्यै गुमाउन चाहदिनँ ।’

अन्त्यमा जेनी ‘सुन्दरता किन यति धेरै जरुरी भएको होला’ भनेर प्रश्न गर्छिन् ।

उनको सपना वास्तवमा एयर होस्टेस बन्ने छ । तर, सुन्दरताको हिसावले एउटा कुरा उनको मनमा सदैव खड्किरहन्छ । ‘प्लेनमा प्रायजसो पढेलेखेका मानिसहरु नै हुन्छन्,’ उनले भनिन्, ‘त्यस्ता मानिसहरुले त सुन्दरतालाई महत्व दिन्छन् भने समाजबाट हामीले केको आशा गर्न सक्छौँ । किनभने, एयर होस्टेस बन्न मरिहत्ते गर्ने सबै सुन्दर नहुन सक्छन् । सबैलाई मेकअप गर्न मन नपर्न सक्छ ।’

सुन्दरतालाई महत्व दिन छाडियो भने एसिड अट्याकका घटनाहरु कम हुने उनको बुझाइ छ । ‘मानिसहरुले तेरो ‘सुन्दरता छिन्दिन्छु’ भनेर एसिड अट्याक गर्छन्,’ उनले भनिन्, ‘जब सुन्दरता भन्ने कुरासँग मतलब हुन छाड्छ, एसिड अट्याकका घटनाहरु पनि हुन छाड्छ ।’

0 comments:

Post a Comment