Thursday 1 September 2022

बसमा सकस बाइक 'पठाओ'

सृजना खड्का

शनिबार, ०७ बैशाख २०७६


काठमाडौँको सार्वजनिक यातायात अस्तव्यस्त छ। साधन हुनेहरू आफ्नै साधन लिएर हिँडे पनि नहुनेहरू कष्टसाथ यात्रा गर्छन्। बस, माइक्रो, ट्याम्पो जताततै यात्रुको चापाचाप हुन्छ। बिहान र बेलुका अफिस टाइममा सार्वजजिक सवारीमा खुट्टा टेक्ने ठाउँ भेट्न पनि हम्मेहम्मे पर्छ। ट्याक्सीमा यात्रा गर्ने यात्रु ठगिइने गरेको गुनासो गर्छन्। 

यस्तै यस्तै समस्याका बीच उपत्यकामा ‘राइड सेयरिङ कल्चर’ बढ्दो छ। राइड सेयरिङ सेवा दिन केही कम्पनीसमेत सुरु भइसकेका छन्। ‘पठाओ’ र ‘टुटल’ यसका उदाहरण हुन्।

के हो ‘पठाओ’ ?

पठाओ राइड सेयरिङ सेवा हो। यसले धेरैलाई पेड लिफ्ट (सशुल्क लिफ्ट) दिन्छ। पठाओको एपमार्फत यात्रा गर्न चाहने व्यक्ति कहाँ छ ? कहाँ जान चाहन्छ ? सबै जानकारी दिन सकिन्छ। यो एपमार्फत बाइकवाला बोलाएको ठाउँमा केही समयमै लिन आइपुग्छ। पठाओ एपमार्फत यात्रा गर्ने व्यक्ति र सशुल्क सेवा दिने व्यक्ति (राइडर) को जानकारी साटासाट हुन्छ। ‘गुगल म्याप’बाट एकअर्काको ‘लोकेसन’ थाहा हुन्छ। 

बंगलादेशका तीन जना व्यवसायी हुसेन एम एलियस, फहिम सलेह र अदनान सिफातले सन् २०१५ मा ‘पठाओ राइड्स’ स्थापना गरेका हुन्। बढ्दो ट्राफिक जाम र यात्रुको चापलाई मध्यनजर गर्दै यो सेवा विस्तार भएको हो। सन् २०१६ को डिसेम्बरमा बंगलादेशमा पठाओ मोबाइल एप बनेको थियो।

राइड सेयरिङ सेवासँगै बंगलादेशमा पठाओ एपमार्फत सामान र खानाको समेत डेलिभरी सेवा उपलब्ध छ। यही बंगलादेशी ब्रान्ड र टेक्नोलोजी नेपालमा  असीममानसिंह बस्न्यातले गएको अक्टोबरमा भिœयाएका हुन्। ‘उच्च शिक्षापछि झन्डै सात वर्ष चीनमा बिताएँ,’ बस्न्यातले भने, ‘विभिन्न क्षेत्रमा जागिर गरेर १५ वर्ष बिताएँ।

अध्ययनको क्रममा बंगलादेशी ब्रान्ड पठाओ नेपाल आउन खोजेका थाहा पाएँ। त्यो अवसर मैले गुमाउन चाहिनँ।’ पठाओको राइड सेयरिङ सेवा पठाओले गर्न लागेको कामको एउटा सानो अंश मात्र भएको उनले बताए। ‘अन्य सेवाका लागि पूर्वाधार निर्माण हुँदै छ,’ पठाओका क्षेत्रीय निर्देशक बस्न्यातले भने, ‘पठाओमार्फत आगामी दिनमा ट्याक्सी सेवा, खाना तथा सामानहरूको डेलिभरी गर्ने तयारी गरिरहेका छौँ।’

के हो ‘टुटल’ ?

पठाओजस्तै मोटरसाइकलमा यात्रुलाई गन्तव्यमा पुर्‍याउन सेवा दिने एप टुटल हो। ‘टुगेदर वी मुभ’ उद्देश्यसहित सञ्चालनमा आएको टुटल नेपाली ब्रान्ड हो। टुटल एप इन्स्टल गरेपछि सेवा दिने चालकले नाम, मोटरसाइकल विवरण र लाइसेन्सलगायत आवश्यक विवरण दर्ता गर्नुपर्छ।

सुविधा लिने यात्रुले एपमार्फत फारम भर्नुपर्छ। एपको प्रयोगकर्ताले उपत्यकाको जुनसुकै ठाउँबाट पनि सेवा दिन र लिन सक्छन्। एपबाट नजिकको टुटल प्रयोगकर्ता चालक खोजी सेवा बुक गर्न सकिन्छ। बुक गर्ने बेलामै यात्रा शुल्कको जानकारी पाउन सकिन्छ। यो सुविधा लिएबापत यात्रुले कम्तीमा तीन किलोमिटरसम्मको ६० रुपैयाँ र त्यसपछि प्रति किलोमिटरमा १८ रुपैयाँका दरले शुल्क तिर्नुपर्छ। टुटलका सेवाग्राहीले ई–सेवा र क्यास दुवै तरिकाले भाडा तिर्न सक्छन्। 

अहिलेसम्म टुटलमा १० हजार मोटरसाइकल चालक आबद्ध भएको टुटलका सह–संस्थापक शिक्षित भट्ट बताउँछन्। विशेष गरी दृष्टिविहीनका लागि टुटल लोकप्रिय बनेको भट्ट बताउँछन्। ‘हरेक दिन सयाँैको हाराहारीमा दृष्टिविहीनले यो सेवा लिइरहेको छन्,’ उनले भने, ‘काठमाडौँको भीडमा दृष्टिविहीनलाई एक ठाउँबाट अर्को ठाउँमा जान निकै गाह्रो छ। टुटलले उनीहरूको सहायता गरेको छ।’

चालक थरीथरी 
काठमाडाँै, बौद्ध, नयाँ बस्तीकी डोमा लामा (२९) गृहिणी हुन्। उनी पठाओमा आबद्ध भएको दुई महिना भयो। ‘वरिपरिका मानिस मोटरसाइकल र स्कुटरमाा लिफ्ट दिँदै हिँडेको देखेर यसबारे थाहा पाएँ,’ उनले भनिन्, ‘घरमा थन्किएको स्कुटर प्रयोगमा पनि आउने, आफूले पनि जागिर पाउने भएकाले यही काम गर्न थालेँ।’ पठाओमा लामा ‘पार्ट टाइम’ काम गर्छिन्।

पार्ट टाइम काम गर्दा मासिक २० देखि २५ हजार रुपैयाँ कमाएको उनी बताउँछिन्। ‘गर्न मन लागेको दिन गर्‍यो, मन नलागेको दिन नगर्‍यो,’ उनले भनिन, ‘तीन जना छोराछोरी छन्। उनीहरूलाई स्कुल पठाएर स्कुटर लिएर हिँड्छु। बेलुका उनीहरूलाई लिन स्कुल पुग्छु। उनीहरूको बिदाको दिन ‘आज घरमै बस्छु’ भन्दा पनि हुन्छ।’ आफ्नो १० वर्षे स्कुटर चलाउने सीप पठाओमा प्रयोग भएकोमा लामा मख्ख छिन्। ‘अरू ठाउँमा काम गर्न जाँदा ‘अनुभव के छ ?’ भनेर सोध्छन्,’ उनले भनिन्, ‘यसमा काम गर्न न डिग्री, न अनुभव चाहिन्छ। ड्राइभिङ लाइसेन्स भए पुग्यो।’

काठमाडौँ, वसुन्धराका धर्मराज भट्टराई (५१) व्यापारी हुन्। उनको आफ्नै होलसेल पसल छ। पसलमा काम गर्ने मानिस राखेका छन्। उनी एक ठाँउमा बसिरहनभन्दा हिँडिराख्न मन पराउँछन्। ‘छोराले पठाओबारे जानकारी दिएदेखि पठाओ नै मेरो साथी भएको छ,’ उनले भने, ‘बिहान ८ बजेदेखि ११ र बेलुका ३ बजेदेखि ८ बजेसम्म यात्रु बोक्छु।’

पठाओबाट मानिसहरू एकठाउँबाट अर्को ठाउँमा पुर्‍याउँदा रमाइलो अनुभव हुने उनी बताउँछन्। ‘सरकारी अफिसका हाकिमदेखि कलाकारसम्म बोक्न पाइन्छ,’ उनले भने, ‘उनीहरूको कुरा सुन्न पाइन्छ। केही न केही कुरा सिकिन्छ। थाहा नभएका र नामै नसुनेका धेरै ठाउँ जाने मौका मिल्यो।’ पठाओ आफ्ना लागि समय कटाउने बाटो भएको उनले बताए। ‘बिहान बेलुका काम गर्दा पनि दिनको हजारदेखि १२ सय फाइदा निकाल्न सकिन्छ,’ उनले भने।  

काठमाडौँ, सामाखुशी बस्ने साकार प्रधान (२७) पठाओ सुरु भएदेखि यसमा आबद्ध भए। उनी काठमाडाँै, कमलपोखरीस्थित सानीमा इन्स्युरेन्समा कार्यरत छन्। यसभन्दा पहिला उनी टुटलमा पनि आबद्ध थिए। ‘म अफिस जाने आउने बेला र बाहिर काम परेर निस्किने बेलामा पठाओको एप अन गरेर बस्छु,’ उनले भने, ‘अफिसको मार्केटिङ गर्नका लागि पठाओले धेरै सघाएको छ। राइड दिँदादिँदै धेरैको बिमा गरेको छु।’

सार्वजनिक यातायात गतिलो नभएकाले अधिकांशले यो सेवा प्रयोग गरेको उनको अनुभव छ। समय बचत गर्न र जामबाट बच्नका लागि पठाओ र टुटलजस्ता सेवा एकदमै भरपर्दो भएको उनले बताए। ‘यसमा काम गर्दा हामी राइडरहरू आफ्नो मालिक आफैँ बन्न पाउँछाँै,’ उनले भने, ‘मन लागेको दिन गर्ने, अल्छी लागेको दिन नगर्दा पनि हुन्छ। अफिस जाँदा र आउँदा मात्रै लिफ्ट दिने हो भने पनि तेल खर्च त्यहीँबाट उठ्छ।’

काठमाडौँ, बागबजार बस्ने प्रेम केसी ६९ वर्षका भए। पठाओ आउनुभन्दा पहिला उनी घरमै बस्थे। बाइक कुदाउनु उनको सोख थियो। ‘एकदिन ‘टुटल र पठाओका बाइक समात्यो रे’ भन्ने खबर सुनेँ,’ उनले भने, ‘पठाओ भनेको के रहेछ भनेर बुझ्नका लागि पठाओको अफिस गएँ। उनीहरूले गर्न खोजेको काम मलाई राम्रो लाग्यो।’ आफू पनि इच्छुक रहेको भन्दै उनले पठाओ कार्यालयमा आफ्नो बाइक दर्ता गराए।

‘काठमाडौँ बसेको ५० वर्ष भयो, यति धेरै ठाउँ होला भन्ने थाहा थिएन,’ उनले भने, ‘पठाओबाट मानिस बोक्न थालेपछि जिन्दगीमा नपुगेको ठाउँमा पुगियो। बुढेसकालमा काम र सेवा दुवै गर्न पाइयो।’ केसी दिनमा चारपाँच वटा राइड दिन्छन्। ‘चिया खान, घरमा तरकारी लैजान कसैको हात थाप्नुपर्दैन,’ उनले भने, ‘मैले बोकेका मानिसमध्ये पठाओलाई कसैले पनि नराम्रो भनेका छैनन्। ‘म बूढाले त गरिरहेको छु, तिमीहरूले गर्नु हुँदैन’ भनेर धेरैलाई हौसला दिँदै हिँड्छु।’

खाडी मुलुकबाट फर्किएका कतिपयको बाँच्ने आधार पठाओ र टुटल भएको काठमाडाँै, तीनकुने बस्ने किरण माझीले बताए। उनी पाँच वर्ष साउदी अरबमा काम गरेर भर्खरै नेपाल फर्किएका हुन्। ‘नेपाल आएपछि के गरौँ र कसो गरौँ भन्ने छटपटी भयो,’ उनले भने, ‘धेरै ठाउँमा काम खोज्न भौँतारिएँ। भनेको जस्तो काम पाइएन। ट्याक्सी चलाउने एउटा साथी थियो।

ऊसँग ट्याक्सी किन्ने सल्लाह गरेँ। उसले ‘२५ लाखको ट्याक्सी किनेर डुब्ने कुरा नगर्, बरु एउटा बाइक किनेर कुदाउन थाल्, आजकाल बाइक चलाएर धेरै पैसा कमाइन्छ’ भन्यो।’ माझीले दुई लाख रुपैयाँ हालेर एउटा बाइक किने र पठाओमा आबद्ध भएर चलाउन थाले। ‘दिनको दुई हजार रुपैयाँ कमाइ हुन थालेको छ,’ उनले भने, ‘विदेशमा कमाउने पैसा घरपरिवारसँग बसेर यहीँ कमाउन थालेको छु। विदेशमा बसेका धेरै साथीलाई पनि मैले यही काम गर्न नेपाल बोलाइसकेँ। नेपालमा यस्तै राम्रा–राम्रा काम सुरु भए भने हामीजस्ता कोही पनि युवा विदेशिनुपर्दैन।’ 

पोलियोका कारण अपांगता भएकी काठमाडौँ, गोंगबुकी गंगा छन्त्याल चारपांग्रे स्कुटर चलाउँथिन्। ‘अपांगता भएको कारण जागिर पाउन सजिलो थिएन,’ उनले भनिन्, ‘साथीहरूबाट लिफ्ट दिएर पनि पैसा कमाउन सकिन्छ भन्ने थाहा पाएँ। एप कसरी चलाउने, म्याप कसरी हेर्ने, लिफ्ट दिँदा के–के कुरामा ध्यान पुर्‍याउने भनेर जानेपछि अहिले दिनको १५ जनालाई लिफ्ट दिइरहेको छु।’

अपाङ्गता भएकाले सुरुमा काम गर्न गाह्रो भएको अनुभव छन्त्यालले सुनाइन्। ‘कसैकसैले त ‘आफैँ यस्तो हुनुहुन्छ, हामीलाई कसरी पुुर्‍याइदिनुहुन्छ ?’ भन्थे,’ उनले भनिन्, ‘हामीलाई देखेर चढ्दै नचढी भाग्नेहरू पनि हुन्छन्। सजिलैसँग उनीहरूले भनेको ठाउँमा पुर्‍याएपछि धन्यवाद भन्दै तारिफ गर्ने पनि छन्। कतिले माया लागेर केही पैसा टिप्स दिएर जान्छन्।’

उनी दुई वर्षको बच्चालाई स्कुल पुर्‍याएर पठाओ सेवा दिन हिँड्छिन्। ‘बिहान ११ बजेबाट बेलुकाको ११ बजसेम्म पनि काम गरेकी छु,’ उनले भनिन्, ‘दैनिक दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ। पेट्रोल र फोनको खर्च कटाएर १५ सय रुपैयाँ बचत हुन्छ।’ मेहनत गर्ने हो भने साउदी, कतार गएर कमाउने पैसा यहीँ कमाउन सकिने उनले बताइन्। ‘गर्न सक्यो भने आफ्नै देशमा सबथोक छ,’ उनले भनिन्, ‘हामी अपांगता भएकालाई हेर्ने दृष्टिकोण राम्रो भए यो क्षेत्रमा हामीलाई अझै सहज हुने थियो।’

पठाओ नेपालका क्षेत्रीय निर्देशक बस्न्यातका अनुसार अहिले पठाओबाट अपांगगता भएका करिब दुई सय जनाले सेवा दिइरहेका छन। ‘उनीहरू पनि अरूसरह काम गर्न सक्छन्,’ उनले भने, ‘उनीहरूले दिने सेवाबाट अहिलेसम्म कुनै कम्प्लेन आएको छैन। बिस्तारै कुदाउने भएकाले उनीहरूसँग बस्दा मानिस झन् सुरक्षित हुन्छन्।’ 

‘सजिलो र छिटो’ पठाओ 

ताप्लेजुङका ईश्वर बराल (२४) काठमाडाँै, मैतिदेवी बस्छन्। उनले पठाओ प्रयोग गर्दै आएको धेरै समय भयो। पठाओले आफूलाई निकै सहयोग पुर्‍याएको उनी बताउँछन्। ‘पठाओ मेरा लागि छोटो, छरितो समयमा भनेको ठाउँमा पुर्‍याइदिने माध्यम बनेको छ,’ उनले भने, ‘ट्याक्सीभन्दा कम मूल्यमा जान पाइन्छ। किलोमिटरअनुसार भाडा लिने भएकाले सस्तो पनि छ।’ जाम परेको बेलामा भित्री बाटोबाट जान पाइने भएकाले पठाओ उपयुक्त ठान्छन् बराल। ‘पठाओले मेरो समयको बचत गरिदिएको छ,’ उनले भने, ‘यस्ता नयाँ प्रविधिले ट्याक्सी चालकहरूले लिने गरेको मनपरी भाडालाई मज्जाले च्यालेन्ज गरेको छ।’

झापाका मोहन कट्टेल (२८) विशेष कामले केही समयका लागि काठमाडौँ आए। ‘योभन्दा पहिला म काठमाडौँ आएको थिइनँ,’ उनले भने, ‘मेरा लागि काठमाडौँ नयाँ भएकाले कहाँ कसरी जाने थाहा थिएन। यहाँ आएपछि मैले पठाओको बारेमा थाहा पाएँ।’ आफ्नो साथीले पठाओबारे जानकारी दिएको उनले बताए। ‘एक दिन कीर्तिपुर जान ढिला भइसकेको थियो,’ उनले सुनाए, ‘एउटा साथीले पठाओ प्रयोग गर्न सल्लाह दियो।

उसैले एप डाउनलोड गरेर सेटिङ पनि एकैछिनमा मिलाइदियो र भन्यो, ‘अब तँलाई लिन कोठामै बाइक आउँछ।’ म छक्क परेँ। नभन्दै एकैछिनमा नयाँ नम्बरबाट फोन आयो। फोन आएको चारपाँच मिनेटमै बाइक लिन आयो।’

काठमाडौँ, कालोपुल बस्ने राम खनाल (२५) ले पनि पठाओ प्रयोग गरेको केही समय भयो। यसले आफूलाई यात्रामा धेरै सहज भएको उनले बताए। ‘गाडीहरू नजाने ठाउँमा समेत यसको प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘ट्याक्सीमा जति पनि भाडा माग्छन्। यसमा अगाडि नै भाडा हेरेर जान सकिन्छ।’ प्रयोग गर्दै जाँदा आफूलाई यो सेवा मन परेको खनाल बताउँछन्।

‘गाडी चढ्ने ठाउँसम्म पनि जानुपरेन,’ उनले भने, ‘भाडामा किचकिच पनि गर्नुपरेन। न जामको चिन्ता, न सवारीसाधन नपाइएला भन्ने पिर। युवाहरूले सुरु गरेको यस्तो इनोभेटिभ कामलाई प्रोत्साहन गर्नुपर्छ।’ 

कानुनमा के छ ?

सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम ‘दर्ता भएका निजी सवारीसाधन भाडामा प्रयोग गर्न पाइने छैन’ भनिएको छ। सोही ऐनको दफा २५ को उपदफा १ मा ऐनबमोजिम एक क्षेत्रमा दर्ता भएको सवारीसाधन अर्को क्षेत्रमा चलाउनसमेत नपाइने व्यवस्था छ । कसैले ऐन उल्लंघन गरेको पाइएमा त्यसलाई नियन्त्रण गरी हजार रुपैयाँ जरिवाना असुल गरिने व्यवस्था ऐनले गरेको छ । 

‘हामीलाई २०४९ मा बनेको यातायात व्यवस्था ऐनमा टेकेर कारबाही गर्ने कुरा चलेको थियो,’ यस विषयमा टुटलका सह–संस्थापक शिक्षित भट्टले भने, ‘समय बदलिसक्यो। विश्व कहाँबाट कहाँ पुगिसक्यो, प्रविधिमा कत्रो फड्को मारिसक्यो।’

असन्तुष्ट ट्याक्सी चालक 

काठमाडौँ, कमलपोखरीआसपास ट्याक्सी चलाउँछन्, अनुपजंग शाही। उनले ट्याक्सी चलाउन थालेको धेरै भएको छैन। ‘ट्याक्सी लाइनमा पैसा टन्नै हुन्छ भनेर आएको,’ उनले भने, ‘अहिले ‘चौटा खान आएकी बूढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको छ। हाम्रो पेशामा उसै पनि धेरै समस्या छन्। त्यसमाथि यी सारथि, टुटल र पठाओ भन्नेले झनै समस्या थपिदिएका छन्।’

यी सेवाले आफ्नो पेशा धराशायी बनेको उनको अनुभव छ। ‘यस्तै हो भने बिस्तारै–बिस्तारै यो ट्याक्सी भन्ने जात नै लोप हुन्छ,’ उनले भने, ‘प्यासेन्जर जति अन्त गएपछि हामीले के गर्ने ? दिनभरि प्यासेन्जर खोज्दै भौँतारिनुपर्छ। सरकारले हाम्रो कुरा कहिले सुन्छ ? सरकारले सारथि, टुटल, पाठाओलाई हटाउनुपर्छ।’

काठमाडौँ, बौद्धमा ट्याक्सी चलाउने शुभराज सुनुवारले पनि टुटल र पठाओबारे सुनेका छन्। ‘दुईचार पैसा आम्दानी होला भनेर यो पेशामा आएको,’ उनले भने, ‘यही पेशामा पनि अरूले आँखा गाडेपछि हाम्रो बेहाल भएको छ। दिनभरिमा दुईतीन टिप पाउन पनि गाह्रो भइसक्यो।’ प्यासेन्जरले सजिलोका लागि मोटरसाइकल सेवा लिने उनले बताए।

‘यो सेवाले प्यासेन्जरलाई सजिलो भएको होला, तर हाम्रो त गरिखाने बाटो नै बन्द हुन लाग्यो,’ उनले भने, ‘अरू पेशामा ज्ञान पनि छैन। यसरी अनेक थरी आएपछि हामीलाई पेट पाल्न गाह्रो हुन्छ नि।’ केही पर्दा आफूलाई सम्झिने प्यासेन्जरसमेत टुटल र पठाओतिर लागेको उनले गुनासो गरे। ‘मेरा प्यासेन्जर सबै भड्किएर लाखापाखा लागिसके,’ उनले भने, ‘परेको बेलामा फोन गरेर बोलाउनेले समेत टुटल र पठाओले गर्दा मलाई बिर्सिसके।’

अर्का ट्याक्सी चालक कृष्ण विक ट्याक्सी व्यवसायमा धेरै चुनौती रहेको बताउँछन्। ‘१० वर्ष भयो मिटरको भाउ बढेको छैन,’ उनले भने, ‘एक त कमाइ ठप्प छ। त्यसमाथि नयाँ–नयाँ के–के आएका हुन्। बाटोमा प्यासेन्जर देखेर ‘जाने हो’ भन्यो भने ‘हैन, मैले पठाओ बोलाएको छु, हैन, मैले टुटल बोलाएको छु’ भन्छन्।’ सरकारले आफूहरूलाई चासो नदिएको उनको गुनासो छ। ‘अहिले त जो पनि आफ्नो मोटरसाइकल लिएर टुटल र पठाओमा दर्ता गर्दा रहेछन्,’ उनले भने, ‘म पनि अब ट्याक्सी बेचेर मोटरसाइकल किन्छु, कुन दिन !’

काठमाडौँ, चाबहिल बस्ने चन्द्रबहादुर विकले ट्याक्सी चलाउन थालेको १० वर्ष भयो। ‘वर्षौंदेखि एउटै मिटर भाडामा चलाउनुपरेको छ,’ उनले भने, ‘नुन, तेलको भाउ दिनदिनै बढ्छ। ट्याक्सीको मिटरको पैसा सधैँ उस्तै। अहिले झन् टुटल, सारथि, पठाओजस्ता व्यवसायले हामीलाई गाह्रो बनाएका छन्। ट्याक्सीमा १ सय ५० लाग्ने ठाउँमा उनीहरू ५० रुपैयाँमा पुर्‍याइदिन्छन्।’ सस्तोका हिसाबले धेरै मानिस उतातिर आकर्षित भएको उनले बताए। ‘उनीहरूको व्यवसाय दिनदिनै फस्टाउँदै गएको छ,’ उनले भने, ‘हामी यता हेरेको हेर्‍यै भएका छौँ।’ 

चन्द्रका साथी हुन्, सूर्य तामाङ। उनले ट्याक्सी चलाउन थालेको एक वर्ष भयो। ट्याक्सी चलाएको पैसाले परिवार पाल्नै मुश्किल पर्ने उनले बताए। ‘प्यासेन्जरहरू मिटरमा उठेको पैसा दिन किचकिच गर्छन्,’ उनले भने, ‘त्यसमाथि टुटल र पठाओले हाम्रो पेशा नै धरापमा पारेका छन्। यस्तै हाल हो भने हामी ट्याक्सी ड्राइभरहरू गाउँ फर्केर खेतीकिसानी गरेर खानुपर्ने अवस्था आइसक्यो।’ 

रवि र प्रकाशको ‘सारथि’

सारथिका सह–संस्थापक प्रकाश न्यौपाने र रवि सिंघल हुन्। रवि र प्रकाशले ‘युबर’ र ‘ओला’ जस्ता अन्तर्राष्ट्रिय ट्याक्सी प्रोभाइडर ब्रान्डबारे सुनेका थिए। त्यसैले उनीहरूले सन् २०१६ को अन्त्यमा ‘सारथि’ नामक संस्था दर्ता गरे। सन् २०१७ को अगस्टमा कम्पनी सुरु भयो। दुई वटा ट्याक्सीबाट सेवा सुरु भएको सारथिसँग अहिले सैयौँ ट्याक्सी जोडिएका छन्। सारथिमार्फत मोबाइल एप्लिकेसन र फोन गरेर ट्याक्सी बुक गरेर सेवा लिन सकिन्छ।

सारथिका सबै ट्याक्सीमा डिस्प्ले जोडिएको हुन्छ। यात्रु चढेपछि चालकले डिस्प्लेमै यात्रा सुरु भएको जानकारी दिने बटन थिच्छन्। जसमा यात्रुले पार गरेको दूरी, लागेको समय, उठेको भाडा र जाममा बस्दा रोकिएको समयसमेत हेर्न मिल्छ। त्यस्तै, सोही डिस्प्लेमा गुडिरहेको सडकको नक्सा र ट्याक्सीमा जोडिएको मिटर पनि हेर्न सकिन्छ। आफ्नो गन्तव्यमा पुगेपछि ट्याक्सीले सबै विवरणसहितको बिल प्रिन्ट गरेर दिन्छ। मिटरको बिलअनुसार यात्रुले भाडा तिर्नुपर्छ।

फोनबाट बुक हुने मात्रै होइन, सारथिका ट्याक्सी खाली हुँदा जोसुकैले पनि रोकेर चढ्न पाउँछन्। त्यसरी चढ्दा पनि मिटरमै उठेको बिल तिरेर यात्रा गर्न पाइन्छ। सारथि प्रयोग गर्न अफिसमा फोन गरेर बुक गर्न सकिन्छ। मोबाइलको प्लेस्टोरबाट सारथिको एप डाउनलोड गरेर पनि ट्याक्सी बुक गर्न सकिन्छ। 

बजारमा देखिएका ट्याक्सी कुनै भाडा, कुनै साहुको र कुनै ऋणमा चलाउने भएकाले त्यसको लगानी उठाउन गाह्रो हुने चालकहरूका गुनासा हुन्छन्। ‘सारथिमा काम गरेपछि कमाइको चिन्ता गर्नुपर्दैन,’ प्रकाशले भने, ‘सारथिका चालकले जति मेहनत गर्छन्, उति नै बढी पैसा कमाउँछन्।’


‘पठाओ र टुटलले चोर बाटो समातेका छन्’ 
 

पुरन तामाङ, महासचिव, उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज 

‘टुटल’ र ‘पठाओ’ यातायात क्षेत्रमा समाधान होइनन्। तिनले समस्या सिर्जना गरिरहेका छन्। उनीहरूले यात्रुमैत्री सेवा दिन होइन, व्यापार गर्न खोजिरहेका छन्। सरकार र हामी कसैसँग समन्वय नगरी यस्तो व्यवसाय सुरु गर्नु गलत हो। यो सेवा होइन। चोर बाटोबाट पैसा कमाउने धन्दा हो। उनीहरू कानुनी बाटोबाट आएका होइनन्। उनीहरूले चोर बाटो समातेका छन्।

कर छल्नका लागि लुकेर चोर बाटोबाट आएका हुन्। ‘टुटल’ र ‘पठाओ’ले नेपालको कानुनलाई चुनौती दिएका छन्। कानुन परिमार्जन भएपछि चलाउनु छुट्टै कुरा हो। कानुन परिमार्जन नहुँदै यो सबै गर्नु भनेको कानुनलाई चुनौती दिनु हो। यस्ता कुरालाई प्रश्रय दिन मिल्दैन।

धेरै युवाले विदेशबाट कमाएको पैसा ट्याक्सीमा लगानी गरेका छन्। उनीहरूले रातदिन नभनी सेवा दिइरहेका छन्। आधा रातमा एम्बुलेन्सको काम गरेको छ ट्याक्सीले। अहिले तिनै चालकलाई ठग, लुटेरा भन्न थालिएको छ। ट्याक्सीको भाडा समायोजन नगर्नाले उनीहरू स्वयं पीडामा छन्। त्यसमाथि यस्ता प्रकारका अवैधानिक व्यापारले ट्याक्सी चालकको पेटमाथि लात मारेको छ।

‘हामी मिटरमा सेवा दिन तयार छौँ, समय सान्दर्भिक मिटरको भाडा समायोजन गरियोस्’, ‘नुुन, चिनी, तेलको भाउ दिनहुँ बढ्छ, हामी २०६९ सालको मूल्यमा सेवा दिन सक्दैनौँ’ भनेर ट्याक्सीमा टाँसेर हिँडेका थियौँ। सरकारबाट त्यो च्यात्ने काम भयो। यसबाट हामीले समाज भड्काउने, सरकारलाई गालीगलौज गर्ने काम गरेका थिएनौँ। सुनुवाइ नभएको गुनासो सुनाउने कोसिस मात्रै गरेका थियौँ। वास्तविक कुरा जनतामा ल्याउन खोजेका थियौँ। तर, हाम्रो आवाजलाई दबाउन खोजियो। हाम्रा आफ्नै दुःख र व्यथा छन्। 

कर तिर्ने हामी। सरकारले तोकेको पोशाक लगाएर सेवा दिने हामी। तर, फाइदा अरूले नै लिइरहेका छन्। उनीहरूले पनि हामीले जस्तै कर तिर्नुपर्‍यो। सुरक्षाको ग्यारेन्टी दिनुपर्‍यो। भोलि मोटरसाइकलवालाले टिपरमुनि लगेर हाल्यो भने त्यसको जिम्मेवारी को ? त्यहाँ यात्रुको सुरक्षा छैन। इन्स्युरेन्स र करको कुरामा लापरबाही छ। आफ्नो मनलाग्दी किलोमिटर र मूल्य तोक्ने अधिकार पठाओ र टुटललाई कसले दियो ?

उनीहरू पनि सरकारी तवरले चल्नुपर्‍यो। हामीजस्तै नियम र डे«ेसकोडमा हिँड्नुपर्‍यो। यो असुरक्षित यात्रा हो। यस्ता कुरालाई प्रश्रय दिनु भनेको देशलाई बेथितितिर लैजानुजस्तै हो। यस्ता कुरामा राज्यले नियमन गर्नुपर्छ। यसको मतलब उनीहरूको विरोध गरेको होइन। सबै जना देशका नागरिक हुन्। सबैले नियमकानुन मान्नुपर्छ भन्ने मात्र हो। 


‘सरासर अवैधानिक काम’

कुमारप्रसाद दाहाल, महानिर्देशक, यातायात व्यवस्था विभाग 

‘टुटल’ र ‘पठाओ’ले सरासर अवैधानिक काम गरिरहेका छन्। यसो भनेर उनीहरूलाई हामीले निरुत्साहित गर्न खोजेको होइन। ‘सञ्चालन नगर्नू’ भनेर पनि भन्न खोजेको होइन। अन्तराष्ट्रिय स्तरबाटै अभ्यास हुँदै आएका यस्ता कुरालाई हामीले नराम्रो भन्न मिल्दैन। तर, जनताको सेवा र सुरक्षा जस्तो संवेदनशील विषय भएकाले केही ध्यान भने पुर्‍याउनुपर्छ।

अनुमति लिएर, नीति बनाएर, कानुनलाई आत्मसात् गरेर मात्र अगाडि बढ्नुपर्छ। बिमा, नम्बर प्लेट, चालकको परिचय पत्र, यात्रुको सुरक्षा जस्ता धेरै कुरामा समस्या र चुनौती छन्। उनीहरूले गरिरहेको काममा कुनै नराम्रो घटना भएमा दण्ड–जरिवानाको व्यवस्था पनि छैन। उनीहरूलाई ऐन–कानुन लगाउन मिल्दैन। त्यसैले उनीहरूलाई कानुनी दायरामा ल्याएर सोहीअनुरूप काम गराउनुपर्छ। सुविधाको हिसाबले यो राम्रो काम भए पनि जनताको सुरक्षाको हिसाबले यसलाई सकारात्मक रूपले हेर्न सकिँदैन। यो सार्वजनिक बहसको विषय हो। 


‘नयाँ रोजगारी जन्मिएको छ’

असीममानसिंह बस्न्यात, क्षेत्रीय निर्देशक, पठाओ नेपाल 

पठाओले सुरुमा ‘ह्यासट्याग एउटा गाडी कम’ अभियान चलाएको थियो। हामीले आफ्नो साधन हप्ताको एक दिन नगुडाए १५ प्रतिशत ट्राफिक जाम कम हुने देखियो। यसले वातावरण संरक्षणमा पनि सहयोग पुर्‍याउला भन्ने लाग्यो। जुन दिन आफूले साधन चलाइँदैन, त्यो दिन अरूबाट लिफ्ट लिने विचार गरियो।  आफूले साधन चलाएको दिन अरूलाई लिफ्ट दिँदा बाइकको खाली सिटको उपयोग हुन्छ। यस्तो अवस्थामा सडकमा खाली गुडिरहेका बाइक सेयर गर्दा केहि बिगिँ्रदैन भन्ने लागेर हामीले यो सेवा सुरु गरेका हौँ।

हाम्रोमा सार्वजनिक यातायातको अवस्था एकदमै दयनीय छ। १५ जना अट्ने माइक्रोमा ३० जना चढ्छन्, ४० जना अट्ने बसमा ८० जना कोच्चिएर बस्छन्। काठमाडौँमा पार्किङको समस्या छ। न्युरोड जाने मान्छेले आफ्नो गाडी थन्काएर पठाओ चढ्छन्। आफ्नै सवारीसाधन सर्भिसिङमा छोडेको बेलामा पठाओ प्रयोग गरेर अफिस जाने–आउने पनि धेरै छन्। पार्टीमा ड्रिंक गरेर बाइक चलाउन खोज्नेहरू अहिले पठाओ प्रयोग गर्छन्। ‘डन्ट ड्रिंक एन्ड ड्राइभ’ लाई हामीले प्रोत्साहन गरिरहेका छौँ। यसर्थ हामीले यात्रुलाई दुर्घटनामा पार्ने होइन, सुरक्षा दिने काम गरेका छौँ।

हाम्रो अफिसमा दिनमा सय जना मानिस बाइक दर्ता गराउन आउँछन्। नयाँ ठाउँमा जाने, यात्रुले मन पराउने, राम्रो रेटिङ पाउने, धेरैभन्दा धेरै राइड दिने राइडरलाई हामी बोनस पनि दिन्छौँ। त्यस्तै, यात्रुहरूलाई पनि बेलाबेलामा डिस्काउन्ट अफर दिइरहेका हुन्छौँ। पठाओको सेवा शुल्क एक किलोमिटरका लागि ४५ रुपैयाँ पर्छ। ४५ रुपैयाँ न्यूनतम शुल्क हो।

त्यसपछि हरेक एक किलोमिटरमा थप १५ रुपैयाँ शुल्क बढ्दै जान्छ। सेवाग्राहीले सरदर चार किलोमिटर पठाओमार्फत यात्रा गरेको पाइएको छ। एक राइडमा सेवाग्राहीको ८० रुपैयाँ जति खर्च हुन्छ। त्यसमा राइडरलाई ८५ प्रतिशत जान्छ। हामीले १५ प्रतिशत लिने गरेका छौँ। 

पठाओमा हाल २० हजार बाइक आबद्ध छन्। पठाओका राइडरमध्ये ६० प्रतिशतले दिनको एक वा दुई राइड प्रदान गर्ने गरेको पाइएको छ। बाँकी ४० प्रतिशतले दिनभर ग्राहकलाई सेवा दिन्छन्। दिनभरि काम गर्नेले मासिक ४० देखि ६० हजार रुपैयासम्म कमाउँछन्। पठाओमार्फत नयाँ रोजगारी जन्मिएको छ। 


‘लुटेर होइन, सेवा गरेर कमाएका छौँ’ 

शिक्षित भट्ट, सह–संस्थापक, टुटल 

सेवाग्राहीलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलो र छिटो पुर्‍याउने उद्देश्यले टुटलको अवधारणा ल्याइएको हो। बाइकमा हिँड्ने मान्छे प्रायः एक्लै हिँडिरहेका हुन्छन्। हामीले प्रविधि प्रयोग गरेर यात्रालाई सहज बनाउने कोसिस मात्र गरेका हाँै। यसलाई ‘सेयरिङ कल्चर’ भन्न सकिन्छ। हरेकले आफ्नो बाइक सेयर गरेर चढ्ने हो भने गाडीको भीडभाड घट्छ, यात्रा सहज हुन्छ। 

१० हजारभन्दा धेरै राइडर हामीसँग आबद्ध छन्। टुटल राइडर बनेर धेरैले आफ्नो घरखर्च चलाएका छन्। आफ्ना बालबच्चा पढाइरहेका छन्। विदेशबाट नेपाल आएर टुटल पार्टनरका रूपमा काम गर्ने धेरै छन्। विदेश जाने तरखरमा भएका धेरै युवालाई टुटलले आफ्नै देशमा रोकेर राखेको छ। त्यसैले सरकारले उद्यमशीलतालाई प्राथमिकता दिनुपर्छ।

हामीले कसैलाई हानि पुर्‍याएको भए अवैध भन्न मिल्छ। राम्रो काम गर्दा पनि अवैध भन्नु कत्तिको न्यायोचित हो ? सरकारले प्रविधिको मर्मलाई बुझेर त्यसअनुरूप नीति र नियम ल्याउनुपर्छ। हामीले युवाका लागि रोजगारी सिर्जनामा योगदान दिइरहेका छौँ। दिनमा तीनदेखि चार वटा राइड दिनेले आफ्नो घरखर्च मज्जाले उठाउन सक्छ। 

टुटलमा आबद्ध मोटरसाइकललाई सुरक्षाको हिसाबले प्रश्न उठ्छ। मोटरसाइकल आफैँमा असुरक्षित सवारी हो। टुटल एपले यसलाई असुरक्षित बनाएको होइन। बाइक त टुटल एप नचलाउँदा पनि त चलिरहेकै थियो। बाइक आफैँमा जोखिम हो। जोखिम हो भने त बाइक नै प्रतिबन्ध गर्नुपर्ने हो। टुटल मात्रै किन ?

हामीसँग आबद्ध बाइकको तेस्रो पक्ष बिमा हुन्छ। त्यसबाटै दुर्घटनामा घाइतेको उपचार हुन्छ। हामीसँग प्रत्येक प्रयोगकर्ताको विस्तृत विवरण हुन्छ। कुन बाइकले कहाँ यात्रु चढायो, ओराल्यो सबै अनलाइन ट्र्याकिङ गरेर जानकारी लिइरहेका हुन्छाँै। दुव्र्यव्यहार र आपराधिक क्रियाकलापको उजुरी गर्न मिल्ने सिस्टम छ। हामी ट्याक्सीको व्यापार खोस्न आएका होइनौँ। हामीले चोरेर, लुटेर होइन, सेवा गरेर पैसा कमाएका हौँ।

हामीलाई लागू गर्ने भनिएको नीति–नियमको पर्खाइमा छाँै। मानिसहरूको आम्दानीप्रतिको अधिकार हनन नहोस्। टुटल ट्याक्सी खरिद गर्न नसक्नेको कमाइ खाने भाँडो भएको छ। हामीलाई खासै फाइदा छैन। यस्तो व्यवसायमा फाइदाको धेरै अपेक्षा पनि गरिँदैन। हाम्रो उद्देश्य सबैले सर्वसुलभ यातायात सेवा पाऊन् भन्ने हो। एपमार्फत मोटरसाइकल र स्कुटर भाडामा चलाउने हामी नै पहिलो होइनौँ । थाइल्यान्ड, बंगलादेश, अफ्रिकाजस्ता धेरै देशले यो सेवा विस्तार गरिसकेका छन्। 

0 comments:

Post a Comment