Thursday 1 September 2022

‘लकडाउनमा घरभित्र यसरी रमाउने’


सृजना खड्का

शुक्रबार, २१ चैत २०७६


साइकोलोजिस्टका सल्लाह
 

हाल सिंगो संसार घरभित्र स्व-बन्दी छ। एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो विपद्का रूपमा देखापरेको कोरोना भाइरसले मानव जातिकै गति र लय ठप्प पारिदिएको छ। द्रुत रफ्तारमा अभ्यस्त भइसकेको आधुनिक जीवनशैली पर्खालभित्र खुम्चिन बाध्य छ।

कोभिड–१९ बाट दुई सयभन्दा बढी देश आक्रान्त छन्। लाखौँ मानिस संक्रमित छन्। हजारौँले ज्यान गुमाइसकेका छन्। भौतिक क्षतिको कुरा गर्ने हो भने विश्व अर्थतन्त्र करिब–करिब तहसनहस भइसकेको छ।

नेपाल पनि कोरोनाको सन्त्रासबीच बाँचिरहेको छ। हालसम्म छ जना संक्रमित नेपाली भेटिएका छन्। उत्तरी छिमेकी चीन कोरोना भाइरसको उद्गमस्थल भए पनि नेपाल अहिलेसम्म जोगिएकै छ। दक्षिणी छिमेकी भारतमा संक्रमितको संख्या बढ्दो छ र यता सारा नेपालीको त्रासको आयतन पनि बढ्दो छ।

भनिन्छ– दुःखको सबभन्दा राम्रो कुरा के हो भने यो एक दिन सकिन्छ। कोरोनाको विपद् पनि एक दिन सकिनेछ। तर, हाललाई सतर्कता र सजगताबाहेक हामीसँग अन्य उपाय छैनन्। पहिलो चरणको लकडाउन नसकिँदै दोस्रो चरणको लकडाउन खप्टिएको छ। सरकारको ‘देश बन्द’ गर्ने यतिखेरको यो सुझबुझपूर्ण निर्णयमा सम्पूर्ण नागरिकले साथ दिनुपर्छ। अनि, सरकारले पनि गरिब र विपन्न नागरिकलाई अरू बेलाभन्दा दोब्बर साथ दिनुपर्छ। दिनदिनै ज्याला–मजदुरी गरेर छाक टार्नेहरूको दुःखमा यस्तो विपद्मा समेत साथ नदिए कहिले दिने ? सरकारले राहतको प्याकेज ल्याएको शुभ खबर पनि छ। राहत वितरणमा कुनै ‘कैफियत’ पो हुन्छ कि भनेर सचेत नागरिक समाजले हेक्का दिलाएको प्रसंग पनि स्मरणीय छ।

राजधानी काठमाडौँ यतिखेर सुनसान छ। भीडभाड, कोलाहल र व्यस्तताको पर्याय यो शहरको गति थामिएको छ। लकडाउनको पालना गर्दै मानिसहरू घरभित्र बसिरहेका छन्। यस्तो समयमा मानिसको मनोदशा कस्तो हुन्छ ? कस्ता मानसिक समस्या आउन सक्छन् ? यो समयलाई कसरी सहज र सरल बनाउने ? यस विषयमा ‘अन्नपूर्ण सम्पूर्ण’कर्मी सृजना खड्काले मनोविश्लेषक र मनोचिकित्सकसँग परामर्श मागेकी छिन्। यस अंकमा सम्पूर्णले ती मनाेचिकत्सकका धारणा र सुझावलाई समेटेको छ।


 

‘जे गर्दा आनन्द आउँछ त्यही गर्ने’

डा.कपिलदेव उपाध्याय

वरिष्ठ मानसिकरोग विशेषज्ञ

कोरोना भाइरस (कोभिड–१९) को महाव्याधि नेपालमा पनि आउन सक्ने भन्दै मानिसहरू डराएका छन्। सरकारले पूरै देश लकडाउन गरेरकोरोना संक्रमितहरूको स्क्रिनिङ गर्न थालेपछि यो भय अझै बढ्यो। यस्ता महामारीका बेला डर लाग्नु स्वाभाविक पनि हो। आपत्विपत्मा आत्तिनु, डराउनु मानवीय स्वभावै हो। यस्तो बेलामा चिन्ता, तनाव रअनिद्राले सताउँछ। आफू र परिवारका सदस्य तथा नातागोता, नजिकका साथीभाइ कसैलाईसंक्रमण हुन्छ कि भनेर चिन्ता लागिरहेको हुन्छ। अहिले हरकोहीले भोगिरहेको समस्या होयो। मानसिक स्वास्थ्यसँग सम्बन्धित कुनैपनि समस्या भएकालाई यस्तो बेलामा झन् गाह्रो हुन्छ।

पूरै देशवासी घरभित्रबसिरहेर मात्र ‘लकडाउन’ सफल हुँदैन। अहिलेपनि अत्यावश्यक सेवामा खटिने चिकित्सक, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न आपूर्ति गर्नेहरू, औषधि पसल सञ्चालन गर्नेहरू, सफाइ मजदुर आदि थुप्रै क्षेत्रका पेशाकर्मी फिल्डमा खटिएका छन्। उनीहरूको स्वास्थ्यलाई लिएर पनि सरोकारवाला पक्षको ध्यान जान जरुरी छ। कोभिड–१९ को उपचार गर्ने भनेर तोकिएका अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको मनोदशाबारे पनि पर्याप्त ध्यान दिन जरुरी छ। चिकित्सकलेकोभिड–१९ को उपचारमा खटिँदा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पाउन नसकेको खबर आइरहेका छन्। उपचारमा खटिनुपर्ने नै असुरक्षित हुने स्थितिले कस्तो भयावह अवस्था ल्याउँछ भन्ने उदाहरण संक्रमण फैलिएका देशमा चिकित्सक तथा स्वास्थ्यकर्मीको मृत्यु भइरहेकोबाट बुझ्न सकिन्छ। महामारी रोक्न फ्रन्टलाइनमा खटिनेको मनोबल उकास्ने तथा उनीहरूलाई तनाव र चिन्तामा जान नदिने अवस्था बनाउन सरकारले काम गर्न जरुरी छ।

‘सोसल डिस्ट्यान्सिङ’ विधि नै यो महाव्याधिको रोकथामको भरपर्दो विकल्प भएकाले देश नै लकडाउन गर्नुपरेको हो। यस्तो अवस्थामा दीर्घरोगी, गर्भवती, मिर्गौला तथा मुटुका बिरामी आदिलाई अस्पताल जान परिरहेको कठिनाइबारे पनि ध्यान दिन जरुरी छ। दैनिक ज्यालादारी गरेर खानुपर्ने श्रमिकलगायत गरिखाने वर्गका लागि यस्तो अवस्थामा न्यूनतम राहत प्याकेज ल्याउन सक्दा उनीहरूको तनाव कम गर्न सकिन्छ। अप्ठेरोमा परेका र पर्नसक्नेका लागि कसरी सजिलो पार्न सकिन्छ, त्यही अनुरूप सरकारले कदम चाल्न सकेमा मात्र मानिसमा बढ्ने चिन्ता कम गर्दै उनीहरूको आत्मबल बढाउन सकिन्छ।

गीत सुनेर, कमेडी फिल्म हेरेर खुशी हुन सकिन्छ। जसलाई जे गर्दा खुशी र आनन्द आउँछ, त्यही गर्नुपर्छ। अध्यात्मतिर झुकाव भएकाले विभिन्न गुरु र साधुका प्रवचन सुन्दा पनि यो बेला डर हटाउन मद्दत पुग्छ।

घरभित्र बसेर के गर्ने भन्नेबारे हिजोआज सबैले केही न केही टिप्स दिइरहेका हुन्छन्। पहिलादेखि नै मानसिक समस्या भएकामा रोगले बढी दुःख दिन सक्छ। निको भएकामा रोग बल्झिन सक्छ। केही नभएकालाई पनि यही बेला मानसिक समस्या देखापर्न सक्छ। त्यसैले आफूमा केही अस्वाभाविक परिवर्तन आइरहेको छ कि?डर र चिन्ता अलि बढी नै लागेको छ कि ? निदाउन सकिएको छैन कि ? आदि ख्याल गर्नुपर्छ।

मोबाइल, ट्याब, ल्यापटपजस्ता ग्याजेटबिना अचेल मानिसहरू एकछिन पनि बस्न नसक्ने भएका छन्। घरभित्र बसिरहँदा जतिखेर पनि स्क्रिनमै घोत्लिरहने हो भने त्यसले पनिनिन्द्रा नपर्ने समस्या ल्याउँछ। राम्रोसँग निदाउन सकिएन भने विभिन्न समस्या निम्तिन्छन्। त्यसैले कमभन्दा कम समयमात्र ग्याजेटको स्क्रिनमा बिताउँदा राम्रो हुन्छ।

यो बेला घरभित्रै गर्न सकिने ध्यान, योग र व्यायाम गर्दा राम्रो हुन्छ। परिवारका सदस्यसँग बसेर रमाइलो वातावरण सिर्जना गर्नुपर्छ। लेख्ने, पढ्ने, पेन्टिङ गर्ने, पत्रपत्रिका र किताब पढ्ने आदि गर्दा पनि हुन्छ। धेरै समय इन्टरनेट र सामाजिक सञ्जालमा बिताएर महामारीसम्बन्धी तथ्यहीन र भ्रामक सूचनाहरूको पछि लाग्नुभन्दा निश्चित समयमा आधिकारिक पत्रिका तथा समाचार च्यानलबाट अपडेट हुँदा नै डर कम हुन्छ।

म्युजिक सुनेर र कमेडी फिल्म हेरेर खुशी हुन सकिन्छ। जसलाई जे गर्दा खुशी र आनन्द आउँछ, त्यही गर्नुपर्छ। अध्यात्मतिर झुकाव भएकाले विभिन्न गुरु र साधुका प्रवचन सुन्दा पनि यो बेला डर हटाउन मद्दत पुग्छ। कसैलाई पूजापाठमा रुचि छ भने त्यो गर्दापनि हुन्छ।

मान्छेलाई मृत्युसँग सबैभन्दा बढी डर लाग्छ। कोरोनो भाइरसको संक्रमण भएपछि मान्छे मरिहाल्छ भनेजसरी अति प्रचार भइरहेको छ। तर, तथ्यांक हेर्दा बिरामीमध्ये दुईदेखि तीन प्रतिशतको मात्र मृत्यु भएको छ। त्यसैले कोरोना संक्रमित हुनेबित्तिकै मरिहाल्ने होइन भन्ने तथ्यलाई बुझेर सजग रहँदा पनि डर कम गर्न सकिन्छ।


 

‘लकडाउनमा मदिराको कुलत व्यापक हुन सक्छ’

प्रा.डा.रवि शाक्य

मनोचिकित्सक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

सूचना प्रविधि विषयमा स्नातक गरिरहेका एक जना २० वर्षीय युवा दुई हप्ताअघि पाटन अस्पतालमा भर्ना भएका थिए। उनी हरहमेसा कम्प्युटर र इन्टरनेटको साथमा हुन्थे। कोरोनो भाइरसबारे सुरुदेखिनै पढ्दै, भिडियो हेर्दै गरिरहेका थिए। कोरोना भाइरस कुन वस्तुमा कति समय जीवित रहन्छ भन्नेदेखि भाइरसबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे उपलब्ध प्रायः सबै जानकारी हासिल गरेका उनमा एकाएक परिवर्तन देखापर्‍यो। घरमा भएका जुनसुकै सामान पनि ‘यसमा कोरोना भाइरस लागेको छ’ भन्दै घरबाहिर लगेर फ्याँक्ने, ढोकाको चुकुल/ह्यान्डल, कम्प्युटर, ल्यापटप र मोबाइलमा स्यानिटाइजर र कोलिन्स छर्किरहनेजस्ता अस्वाभाविक गतिविधि गर्न थाले। अभिभावक चकित भएका थिए। मानसिक समस्या पो हो कि भन्दै उनलाई उपचारकालागि अस्पताल ल्याइएको थियो। भर्ना गरेर उपचार गरिएको थियो। लकडाउन सुरु भएपछि उनका अभिभावकले डिस्चार्ज गरिदिन आग्रह गरेपछि उनी अहिले घर फर्किएका छन्। कोरोना भाइरसबारे निरन्तर नकारात्मक जानकारी लिइरहेका उनलाई साइकोसिस भएको थियो। उनी उपचाररत र निको हुने चरणमा छन्।

यस्ता केस धेरै देखिने सम्भावना छ। कोरोनाबारे सामान्य मानिसलाई चाहिनेभन्दा बढी सूचना, त्यसमा पनि नकारात्मक सूचना बढी हुँदासाइकोसिसको समस्या हुने गर्छ। मानसिक समस्या भएका पुराना बिरामीहरूको अवस्था अझै खराब भएर उपचार तथा काउन्सिलिङका लागि सम्पर्क गरिरहेका छन्। लकडाउनपछि सजिलै अस्पताल आउन नसकेका कतिपय बिरामीले फोन र म्यासेजमार्फत आ–आफ्ना समस्या बताइरहेका छन्। मैले आफूले हेरिरहेका बिरामीको तथ्यांकका आधारमा पनि कोरोनाका कारण ‘प्यानिक’ भएर धेरै मानिसको मानसिक स्वास्थ्यमा समस्या आउने अवस्था छ।

कुनै पनि विपत्ति वा महामारीका बेला मानिसमा चिन्ता र तनाव हुन्छ नै। केही वर्षअघि हामीले भोगेको महाभूकम्पपछि पनि धेरैले चिन्ता, तनाव र डिप्रेसन भोगेका थिए। कोरोनाको महामारी विश्वव्यापी फैलिएको र विकसित देशका मानिसपनि यो रोगका कारण मरिरहेकाले हामी नेपालीलाई अझ बढी चिन्ता र तनाव भइरहेको छ। चिन्ता हुँदा मनमा एक प्रकारको ‘केही अप्रिय भइहाल्छ कि ?’ भन्ने नरमाइलो अनिश्चितता महसुस हुन्छ। डरमा पनि करिब–करिब यस्तै हुन्छ। चिन्ता हुँदा मुटु ढुकढुक हुने, सास तथा रक्तचाप बढ्ने, रिंगटा लाग्ने, बेचैनी हुने, पसिना आउने, मुख सुक्ने, छिनछिनमा प्यास लाग्ने एवं तारन्तार दिसा–पिसाब लाग्ने लक्षण देखिन्छन्।चिन्तासँगै तनाव पनि भइरहेको हुन्छ। बोलीचालीको भाषामा धेरैले तनाव छ भनिरहेका हुन्छन्। तर, कुनैपनि व्यक्तिको कुनै पनि परिस्थितिलाई सामना गर्ने क्षमताभन्दा बाहिरको कुनै बदलावले उसमा ल्याउने अशान्त मानसिक अवस्थालाई नै तनाव भनिन्छ।

यो महामारीका कारण मृत्युसँगै समग्र अर्थव्यवस्थामा ल्याउने नकारात्मक असरले धेरैलाई तनाव दिइरहेको छ। नेपालमा भर्खर संक्रमणका केसहरू देखिन थालेका छन्। लकडाउन थप कति जान्छ, कति जनामा संक्रमण देखिएलाजस्ता विषयले पनि मानिसलाई तनाव दिइरहेको छ। विशेष गरेर, ऋण काढेर व्यवसाय गर्नेहरू व्यवसाय डुब्ने डरले र जागिर खानेहरू जागिर गुम्ने डरले तनावमा जान थालिसकेका छन्। यस्तो परिस्थितिमा सरकारले विशेष राहत प्याकेज घोषणा गरेर उनीहरूको पेशा र व्यवसाय निरन्तर हुने, औषधि उपचारमा कुनै कमी हुन नदिने भनेर आश्वस्त पार्न सक्नुपर्छ। भाइरसको संक्रमण नियन्त्रण भइसकेपछि फेरिपनि पेशा तथा व्यवसायमा फर्किन सकिन्छ भन्ने ढाडस दिँदापनि मानिसले अहिले अवस्थालाई सही तरिकाले कोपिङ (सामना) गर्न सक्छन्।

चिन्ता र तनाव भगाउन मदिरा सेवन गर्ने चलन नेपाली समाजमा छँदै छ। यो बेला मदिराको कुलत व्यापक हुन सक्छ। मदिराले रोगप्रतिरोधात्मक क्षमता घटाउने भएकाले भाइरसको संक्रमणबाट यसले जोगाउने हल्लाको पछि लाग्नु हुन्न।

विभिन्न अफवाह फैलिरहेका छन्। जस्तो, मदिरा सेवन गर्नेलाई कोरोना भाइरस लाग्दैन भनेर गलत हल्ला फैलिरहेको छ। चिन्ता र तनाव भगाउन मदिरा सेवन गर्ने चलन नेपाली समाजमा छँदै छ। यो बेला मदिराको कुलत लागेर उपचारपछि छोडेका, मदिरा सेवन गरिरहेका, आक्कझुक्कल मदिरा सेवन गर्ने सबैले चिन्ता र तनाव कम गर्ने बहाना मदिरा सेवन गर्ने सम्भावना अत्यधिक छ। मदिराले रोगप्रतिरोधात्मक क्षमता घटाउने भएकाले यस्ता भाइरसको संक्रमणबाट यसले जोगाउने कल्पना पनि गर्न सकिन्न।

फरक–फरक क्षेत्र र अवस्थाका मानिसलाई यस्ता महामारीले फरक–फरक खालको असर गर्ने भएकाले परिवार, समाज र सरकारले परिस्थितिअनुसार ह्यान्डल गर्ने रणनीति अख्तियार गर्नुपर्छ। भाइरसको संक्रमण नियन्त्रण हुन्छ। चीन जहाँबाट सुरु भयो, त्यहाँ नियन्त्रणमा आइसक्यो। तर, यसको प्यानिकका कारण समाजका सबै पक्ष क्षतविक्षत भयो भने त्यसलाई सम्हाल्न भने निकै गाह्रो हुन्छ। त्यसैले सरकारले यसबाट बढी असर गर्ने क्षेत्र तथा वर्गलाई बेलैमा मद्दत गर्दै परिस्थितिको सामना गर्न सक्ने बनाउँदै लैजानुपर्छ।


 

‘आधिकारिक निकायका सूचना मात्रै ग्रहण गर्नुपर्छ’

डा.अनन्तप्रसाद अधिकारी

मनोचिकित्सक, पाटन मानसिक अस्पताल

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले सबैलाई त्रसित बनाएको छ। जो कोहीलाई पनि आफू, आफ्नो परिवार वा आफन्तलाई रोग लागिहाल्ने हो कि भन्ने चिन्ता हुनु स्वाभाविक हो। रोगबारे सजग भएर आवश्यक सावधानी अपनाए पनि अनावश्यक चिन्तित हुनु भने ठीक होइन। त्यसले मानसिक रोग लाग्न सक्ने सम्भवना बढेर जान्छ। ठूला विपद् र त्यसपछिको समयमा समेत मानसिक रोग लाग्न सक्ने खतरा रहन्छ।

कोभिड–१९ बारे पढ्ने, हेर्ने र सुन्ने गर्दा व्यक्तिको मनोबल कमजोर हुनसक्छ। सामाजिक सञ्जालमा दिइएका अतिरञ्जित सामग्रीहरूले पनि व्यक्तिमा भय बढाएको छ। विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना र आधिकारिक समाचारमाध्यमका समाचार सामग्री मात्रै पढ्नुपर्छ, हेर्नुपर्छ। सरकारले लकडाउन घोषणा गरेसँगै घरभित्रै बसिरहँदा धेरैले दिनभर धेरै समय यही विषयका बारेमा जानकारी लिने गरेका छन्। दिनभर यही विषय मात्रै हेर्दा र सुन्दा त्यसको प्रभावका रूपमा मानसिक रोग लाग्नसक्ने जोखिम हुन्छ।

अहिले कतिपय व्यक्ति रोगप्रति जति सजग हुनुपर्ने हो, त्योभन्दा बढी नै भएको पाइएको छ। एक जना महिलाले सन्तानलाई सुरक्षाका लागि भन्दै चार वटासम्म मास्क लगाइदिएकी थिइन्। रोगबाट बच्न हात धुनुपर्छ भनेकाले कतिपयले दिनभर हात मात्रै धुन थालेका छन्। कतिपयले सूचना नबुझेर त कतिले बढी सुरक्षित हुन चाहेर पनि यी कुरामा बढी ध्यान दिइरहेका छन्। त्यसैले पनि आधिकारिक सूचना मात्रै पछ्याउनु पर्ने खाँचो छ।

रोग विश्वव्यापी बन्दै जाँदा सामान्यभन्दा बढी चिन्ता गर्ने समस्या हुनसक्ने देखिएको छ।  व्यक्तिमा रोग लाग्ने चिन्ता, रोग लागेपछि पनि उपचार नपाउने हो कि भन्ने चिन्ता र कतिपयलाई आफ्नो रोजगारी गुम्ने पो हो कि भन्ने चिन्तासमेत भएको पाइन्छ। यसले निराशा, उदासीलगायत समस्या देखिन थालेका छन्। त्यस्तै रोगबारे बढी चिन्ता गर्दा निद्रा कम लाग्ने र थकाइ महसुस हुने समस्या पनि देखिएका छन्। खाली समय पर्याप्त हुँदा विभिन्न कुलतमा फस्ने सम्भावना पनि हुन्छ।

कोभिड–१९ बारे आधिकारिक निकायका सूचना मात्रै पढ्नु, सुन्नु र हेर्नुपर्छ। सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्नुभन्दा पारिवारका सबै सदस्य एक ठाउँमा बसेर कुराकानी गर्नु उपयुक्त हुन्छ। सिनेमा हेर्ने र संगीत सुन्ने गर्दा राम्रो हुन्छ। एकअर्काको कुरा सुन्दा डिप्रेसनको जोखिम कम हुन्छ।


 

‘परिस्थितिसँग समायोजित हुनुपर्छ’

वासु आचार्य

मनोविश्लेषक

अहिले मुलुक लकडाउनमा छ। लकडाउनको समयमा यसको नियम पालना नगरी घरबाट बाहिर निस्कने मानिस पनि छन्। उनीहरूमध्ये अधिकांश बाध्यताले बाहिर निक्लेका होलान्। तर, कतिपय अवस्थामा भने मानिस यस्तो परिस्थितिमा आफूलाई घरमा टिकाउन नसकेर पनि बाहिर निस्कने गर्छन्। परिस्थितिको सामना गर्न नसक्ने यस्तो समस्यालाई एड्जस्टमेन्ट डिसअर्डर अर्थात् ‘समायोजन विकार’ भनिन्छ। एउटा दिनचर्याबाट अर्को दिनचर्यामा जानु परेपछि यस्तो अवस्था सिर्जना हुन्छ।

अहिलेको अवस्था लामो समयसम्म घरभित्रै बसिरहनुपर्ने खालको छ। सबैले लामो समयसम्म आफूलाई घरको चौघेराभित्र समायोजन गराउन सक्दैनन्। मानिसहरूको दैनिक जीवन बाहिर घुम्ने, रमाइलो गर्ने, साथीहरूसँग भेट्ने खालको हुन्थ्यो। तर, एक्कासि घरभित्र बस्नुपर्दा उनीहरूलाई अप्ठ्यारो र असहज महसुस हुने हुन्छ। यस्तो बेलामा छटपटी, बेचैन, अनिद्राको समस्या हुन्छ। कहाँ जाऔँ, के गरौँ हुन्छ, मन मरेजस्तो हुन्छ। साथै, यस्तो बेलामा कोही धेरै बोल्ने, कोही कम बोल्ने, कोही धेरै खाने, कोही कम खानेखालका पनि हुन्छन्। कतिपयलाई रुन मन लाग्ने हुन्छ भनेकतिपय झगडालु हुन थाल्छन्। बच्चालाई पिट्नेआदि काम पनि गर्छन्। यस्ता लक्षण देखिएर छटपटी भएपछि मानिसहरू घरबाट बाहिर जान खोज्छन्। फुत्त बाहिर निस्कँदा उनीहरू दंग पर्छन्। एड्जस्टमेन्ट डिसअर्डर महिलालाई बढी हुन्छ।

अहिलेको अवस्थामा धेरै मानिसमा समायोजन विकार हुने गर्छ। पहिला सासू र बुहारी धेरै समय एकै ठाउँमा बस्नुपरेको थिए। बुहारी बिहान अफिस जाने, बेलुका मात्र आउने हुन्छ। अहिले लकडाउनपछि त्यही बुहारी दिनभरि सासूसँग बस्नुपर्ने हुन्छ। त्यस्तै, कामको सिलसिलामा घरबाट बाहिर बस्ने श्रीमान् पनि यस्तो अवस्थामा घरमा टिक्न नसक्ने हुन्छ। बालबालिकाको स्कुल अहिले छुट्टी भएकाले कतिपय अभिभावकलाई बालबालिकादेखि झर्को लाग्ने पनि हुन सक्छ। 

समायोजन विकारले मानिसलाई डिप्रेसनको समेत सिकार बनाउन सक्छ। त्यसैले अहिलेको अवस्थामा मानिसले धेरै उपाय लगाएर आफूलाई समायोजन गरिरहेका छन्। कहिल्यै ननाच्ने मानिस नाचिरहेका हुन्छन्। कहिल्यै नगाउने गाइरहेका हुन्छन्। कहिल्यै फेसबुकमा स्ट्याटस नहाल्ने मानिस हालिरहेका छन्। यी सबै क्रियाकलाप उनीहरूका लागि पीडा व्यक्त गर्ने माध्यम भएका छन्। यसरी परिस्थितिलाई व्यवस्थापन गर्‍यो भने मानिसलाई मजा आउँछ। हैन भने समस्यैसमस्या निम्तिन्छन्। यसका लागि मुख्य भनेको विचार व्यवस्थापन हो।


 

‘दिमागमा अनावश्यक सूचनाको बोझ राख्नु हुन्न’

प्रा.डा. सरोजप्रसाद ओझा

मनोचिकित्सक

कोरोना अहिले सबैका लागि तनावको विषय बनेको छ। यस्तो अवस्थामा सकेसम्म हामीले आत्मानुशासन र आत्मबल बलियो बनाइराख्नुपर्छ। यो बेला मानिसले पढ्ने, सुन्ने र हेर्ने समाचार र जानकारीले धेरै प्रभाव पारिरहेका हुन्छन्। नराम्रो समाचार हेर्दा हाम्रो मनोविज्ञान पनि नकारात्मक हुन सक्छ। त्यसैले हामीले आधिकारिक संस्थाको समाचारलाई मात्र फलो गर्नुपर्छ। चौबीसै घण्टा अनावश्यक सूचनाको पछि लाग्दा यसले अवस्थालाई झन् नकारात्मक बाटोतिर लैजान्छ। हामी जसरी दिनको दुईपटक खाना खान्छाँै, त्यसैगरी समाचारको अपडेट पनि दिनको दुईतीन पटक मात्र लिनुपर्छ।

अहिलेको यो तनावलाई शरीरले विभिन्न तरिकाले वहन गर्छ। नकारात्मक कुरा वहन गर्दा त्यसको असर पनि नकारात्मक नै हुन्छ। अनावश्यक च्यानल र साइटबाट आउने अनावश्यक समाचार र सूचनालाई दिमागमा राख्दा बोझ हुन्छ। त्यसैले यो अवस्थामा शरीरले वहन गर्न सक्ने कुरा मात्र लिनुपर्छ।

यो बेलामा इटाली र स्पेनको मात्र समाचार सुन्दा र हेर्दा मानिसहरूमा विभिन्न किसिमका त्रास उत्पन्न हुन्छन्। तर, त्यहीँ ठाउँमा चीनलाई राखेर हेर्‍यौँ भने एउटा सकारात्मक सन्देश पाउन सक्छाँै। कोरिया र सिंगापुरको उदाहरण पनि हामी लिन सक्छाँै। यसले हामीलाई सकारात्मक ऊर्जा दिन्छ। भौगोलिक दूरी भएपनि अहिले विश्व कोरोनासँग जुध्ने सवालमा एक भएको अवस्था छ।यसले पनि हामीलाई ठूलो आत्मबल दिएको छ। यो बेलामा हामीले आफ्नो आत्मबलाई बलियो बनाएर अरूलाई पनि सकारात्मक सन्देश दिनुपर्छ। कोरोना लागेर मृत्यु भएकाभन्दा कोरोना लागेर निको भएका धेरै मानिस छन्। त्यस्तो कुराबाट पनि हामीले प्रेरणा लिन सक्छौँ।

भारतका टेलिभिजनहरूले मानिसलाई भुलाउनका लागि रामायण र महाभारत सुरु गरेका छन्। त्यसबाट मानिसहरू घरमा बसेर मनोरञ्जन लिइरहेका छन्। यसले पनि मानिसलाई अनावश्यक अफवाहबाट टाढा लैजान्छ।


 

‘कुलत छुटाउने सुनौलो अवसर’

डा. रितेश थापा

मानसिक रोग विशेषज्ञ

अहिलेको यो अवस्थालाई बाध्यकारी ठान्नु हुन्न। होम क्वारेन्टिनलाई धेरैले नकारात्मक रूपमा लिएका छन्। तर, आज हामी जे गरिरहेका छाँै, त्यो अरूका लागि होइन,आफू र आफ्नो परिवारका लागि हो भनेर बुझ्नुपर्छ।

कुनै पनि महामारी स्थायी हुँदैन। अस्थायी हुन्छ। कतिपय मुलुकमा कोरोना भाइरस हराउँदै र नियन्त्रण हुँदै गइरहेको कुरा पनि हामीले बिर्सिनुहुँदैन।

अहिले यही बेला धेरै मानिस विभिन्न लतमा परेका छन्। समय कटाउने बहानामा जाँडरक्सी र चुरोटको लतमा पर्ने पनि छन्। यस्ता लतले रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले यस्ता खाले लतबाट टाढा बस्नुपर्छ।बरु यो त कुलतमा लागेका मानिसहरूका लागि सुनौलो अवसर हो। उनीहरूले यो समयलाई अवसरका रूपमा लिएर जाँडरक्सी र चुरोट छोड्न सक्छन्।

पहिला सामान्य रुघाखोकी लाग्दा तातोपानी खाएर बस्नेहरू पनि अहिले कोरोना लाग्यो कि भनेर डराइरहेका छन्। सजग हुने हो, भयभीत हुने होइन। हाम्रो दिमागलाई कोरोनाभन्दा बाहिर लैजानुपर्छ।


 

‘स्क्रिनमा क्वालिटी टाइम बिताउन सकिन्छ’

डा. विश्वबन्धु शर्मा

मनोचिकित्सक

लकडाउनमा अधिकांश मान्छेको समय बिताउने भाँडो मोबाइल र टेलिभिजन हो। राम्रो कुराका लागि यसलाई उपयोग गर्दा यसले राम्रो नतिजा दिन्छ भने अनावश्यक कुरामा प्रयोग गर्दा यसले समयको सत्यानाश मात्र गर्छ। यसै त आइसोलेसन, त्यसमाथि मोबाइल र टेलिभिजनमा झुण्डिँदा मानिसहरूलाई झनै दिक्क लाग्ने हुन्छ। घरभित्रका सदस्यबीच पनि सञ्चार हुन पाउँदैन। त्यसैले यो बेला सकेसम्म स्क्रिनबाट टाढै बसेको राम्रो हुन्छ।

लामो समयसम्म घरमा बस्नुपर्ने भएकाले कतिपय मानिसहरू मोबाइल नचलाई बस्न सक्दैनन्। यस्तो बेलामा मोबाइलको सदुपयोग गर्न सकिन्छ। त्यसका लागि आर्ट फिल्म र राम्रा डकुमेन्ट्री हेर्न सकिन्छ। स्क्रिनमा पनि क्वालिटी टाइम बिताउन सकिन्छ। रुचि छ भने फोटोसपमा बसेर फोटोलाई क्रिएटिभ बनाउन सकिन्छ। इच्छा भएको मानिसहरू एनिमेसन गरेर पनि समय बिताउन सक्छन्। सिर्जनशील भएर सोचियो भने स्क्रिनबाट पनि धेरैकुरा सिक्न सकिन्छ। तर, स्क्रिनबाट हल्लाखल्लामात्रै सुनेर बसियो भने त्यसले मनलाई थकाउँछ। त्यस्तै स्क्रिनबाट टाढा हुनका लागि छतमा निस्किने, इनडोर गेम खेल्ने, शारीरिक व्यायाम गर्ने, गार्डेनिङ, पेन्टिङ गर्ने गर्नुपर्छ। गीतहरू सुन्ने, गाउने, नाच्ने गर्दा पनि यो बेलामा फाइदा नै पुग्छ। सबैभन्दा राम्रो कुरा यो बेलामा पढ्ने नै हो।

काठमाडौँमा धेरै मानिसको घर छैन। उनीहरू डेराको जीवन बिताइरहेका हुन्छन्। उनीहरूका लागि यो समय निकै सकसपूर्ण हुन सक्छ। उनीहरूले साँघुरो ठाउँमा चाहेर पनि कतिपय क्रियाकलाप गर्न सक्दैनन्। यस्तो बेलामा आफ्ना साथीहरूसँग भिडियो च्याट गर्न सकिन्छ। आफ्ना अनुभव सुनाउन सकिन्छ, उनीहरूका अनुभव सुन्न सकिन्छ। एकले अर्कालाई प्रोत्साहन गर्नुपर्छ, भरोसा दिनुपर्छ।

सामाजिक सञ्जालमा साथीहरूको समूह बनाएर विभिन्न विषयमा छलफल गर्न सकिन्छ। कोरोना मात्र नभएर अरू विषयमा पनि छलफल गर्न सकिन्छ। कुनै किताब पढेर र फिल्म हेरेर साथीहरूसँग त्यसको विषयमा छलफल गर्न सकिन्छ।

लामो समय मानिसहरूले भागदौडमा बिताएका छन्। घरदेखि अफिससम्म र अफिसदेखि घरसम्मको दिनचर्याबाट अहिले छुटकारा पाइएको छ भनेर बुझ्नुपर्छ र्।  मानिसहरूले आराम पाएकाहुँदैनन्। पूरा निन्द्रा सुत्न पाएका हुँदैनन्। घरको खाना खान पाएका हुँदैनन्। यो तीसबै धोको पूरा गर्ने समय पनि हो। यसलाई भरपूर सदुपयोग गर्नुपर्छ।

0 comments:

Post a Comment